केपी ओलीमा सुरुमा देखिएको उत्साह हरायोः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार निर्माणका बेला देखिएको उत्साह र उर्जालाई प्रधानमन्त्री केपी ओलीले कायम राख्न नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंको कान्तिपथमा सोमबार पत्रकार सम्मेलन गरेर अध्यक्ष राणाले सरकार गठनका बेला सुरुवाती दिनमा देखिएको उत्साहलाई कायम गर्न नसकेपछि राप्रपा (प्रजातान्त्रिक)ले प्रधानमन्त्री ओलीको आलोचना नगर्ने बताए ।

‘संविधानसम्मत रुपमा संघीय संसद र प्रदेश सभाको निर्वाचनपछि मुलुकले संक्रमणकाल पार गरी राजनीतिक स्थिरता प्राप्त गरेको छ’, उनले भनेका छन्, ‘तर, सरकार निर्माणको बेला देखा परेको जनउत्साहले निरन्तरता पाउने संकेत भने देखा परिरहेको छैन ।’

‘तैपनि अहिले नै सरकारको बारेमा राप्रपा (प्रजातान्त्रिक) आलोचना गर्ने पक्षमा छैन’, अध्यक्ष राणाले भनेका छन्, ‘मुलुकको अनुहार फेर्ने काममा एकलव्य भएर समर्पित हुनुभयो भने वर्तमान प्रधानमन्त्रीलाई सबै दलहरूको सहयोग र समर्थन रहनेछ ।’

प्रधानमन्त्री ओलीले गृह र अर्थ मन्त्रालयका विभिन्न विभागहरूलाई आफू मातहत राखेकोमा विरोध गरेका अध्यक्ष राणाले शक्ति सञ्चय नगर्न चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्रीले आफूलाई शक्तिशाली बनाउन विभिन्न निकायलाई आफूमातहत ल्याउने काम गरेका छन् । यसले उनी शक्तिसञ्चयतर्फ केन्द्रित हनु लागेको भान हुन्छ’, राणाले भनेका छन्, ‘शक्तिसञ्चयभन्दा पनि मुलुकको अनुहार फेर्ने काममा लाग्नुपर्छ ।’

गत आमनिर्वाचनपछि राप्रपा (प्रजातान्त्रिक)को अवस्था र मुलुकको स्थितिलाई मध्यनगर गर्दै मजबुत पार्टी संगठनको दायरालाई व्यापक र फराकिलो बनाउन अनिवार्य भएको अध्यक्ष राणाले बताए ।

‘यसका लागि राप्रपा (प्रजातान्त्रिक), राप्रपाका सबै धारहरूलाई एउटै सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्रि निर्माणको अभियानमा सहभागी हुन समेत हार्दिक आग्रह गर्दछु ।’

Published : Monday, 2018 April 23, 4:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया