शुभकामना कार्यक्रममा पत्नीहरूसहित देखिए अध्यक्षहरू

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित एक पार्टी प्यालेसमा नेता, कार्यकर्ता र शुभेच्छुकसँग राजपाका शीर्ष नेताहरूले शुभकामना आदान प्रदान गरेर वार्षिकोत्सव मनाएका हुन् ।

कार्यक्रममा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर भने अनुपस्थित थिए । ठाकुर स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा छन् ।

अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादब पनि कार्यक्रममा अनुपस्थित थिए । यादव पनि उपचारका लागि नयाँदिल्लीमा छन् ।

शुभकामना आदानप्रदानको कार्यक्रमका लागि तयार पारिएको मञ्चमा क्रमशः राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा रहेका थिए ।

उनीहरूकै लहर नजिकै राजेन्द्र महतोकी पत्नी शैली महतो, अनिलकुमार झाकी पत्नी डिम्पल झा, राजकिशोर यादबकी पत्नी सरिताकुमारी यादव तथा सांसद नरमाया ढकालसहितका केही महिला सांसदहरूको उपस्थिति रहेको थियो ।

पहिलो शुभकामना तथा चियापान कार्यक्रम भएकाले आगन्तुकहरूले अध्यक्ष महन्थ ठाकुरलाई खोजेका थिए ।

तर, ठाकुर स्वास्थ्यका कारण अनुपस्थित रहेपछि चियापान तथा शुभकामना अदालन प्रदान कार्यक्रमको कमाण्डिङ राजेन्द्र महतोले गर्ने प्रयास गरेका थिए । चियापान कार्यक्रममा अध्यक्ष ठाकुर नहुँदाको रौनक भने देखिएको थिएन ।

कार्यक्रममा आउने आगन्तुकहरूलाई महासचिव केशव झाले गेटबाट स्वागत–सत्कार गर्दै मञ्चमा बसेका नेताहरूसम्म पुर्‍याउने कार्य गरेका थिए । राजपाका केन्द्रीय पदाधिकारी धेरै भए पनि पाहुनाको स्वागतका लागि अन्य पदाधिकारीहरूले धेरै महत्व नदिएको कार्यकर्ताहरूले गुनासो गरेका थिए ।

शुभकामना तथा चियापान कार्यक्रममा सांसद नरमाया ढकाललाई कार्यकर्ताले चिनेका पनि थिएनन् । मञ्चमा बसेकी सांसद ढकाललाई धेरै कार्यकर्ताले ‘को महिला नेतृ हो ?’ भनेर प्रश्न गरेका थिए ।

शुभकामना दिन नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पुगेका थिए । राजपाका नेता महतोसँगै केही समय बसेर कुराकानी गरेका थिए ।

Published : Friday, 2018 April 20, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया