हेटौँडामा तीन थान पेस्तोलसहित मोक्तान पक्राउ

हेटौँडा । तीन थान कटुवा पेस्तोलसहित मकवानपुर प्रहरीले अनिल भनिने जोकर मोक्तानलाई पक्राउ गरेको छ ।

हेटौडा हेटौँडा उपमहानगरपालिका वडा नं. ३ स्थित लेबट भन्ने स्थानमा सवारी साधन चेक जाँचका क्रममा मोक्तानलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विकास खनालले जानकारी दिए ।

‘चेकजाँच गरीरहेको अवस्थामा प्रहरीको चेकिङ टोलीलाई देखेर नेवारपानीबाट हेटौडा बजारतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक सवारी साधनबाट अनिल भनिने जोकर मोक्तानलाई हतियारसहित पक्राउ गरिएको छ’, एसपी खनालले भने, ‘३/४ जना व्यक्तिहरू प्रहरीलाई देखेपछि ४०/५० मिटर टाढै गाडी रोकेर भाग्न खोजेका थिए । एकजनालाई पक्राउ गरियो । अरु भागेका छन् ।’

जम्बो चौतारा बस्ने ३७ वर्षीय मोक्तानको झोलाबाट प्रहरीले कटुवा पेस्तोल  थान ३, नलकटुवा पेस्तोलमा फिट हुने गोली थान ११, थ्री नट थ्री राईफलको गोली थान १, सुतली बम थान १, नेपाल प्रहरीको चुस्ता थान १ लगायतका बिभिन्न सामाग्री बरामद भएको छ ।

अन्य संलग्न व्यक्तिहरूको पहिचान भई सकेको र खोज तलासको कार्य जारी रहेको खनालले बताए । ‘जोकर मोक्तानका सम्बन्धमा थप अनुसन्धान तथा छानबिन भैरहेको छ’, एसपी खनालले भने ।

यसअघि पनि मकवानपुर प्रहरीले हातहतियारसहित थुप्रै व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

Published : Thursday, 2018 April 19, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया