ओलीको पानीजाहाजमाथि घनश्याम भुसालकै नकारात्मक टिप्पणी

काठमाडौं । एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएर नेपाल र नेपालीको पहिचान गुमाएको घुमाउरो भाषामा आरोप लगाएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा भने, ‘राम्रो कुरा हो, हामीले प्रशान्त महासागरमा जहाज चलाउनुपर्छ । तर, प्रशान्त महासागरको त्यो जहाजले हाम्रा सीमान्त श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ भन्ने कुरा सोचिएन भने त्यहाँनेर मार्क्सवाद डेभिएट (विचलित) हुन्छ । यहाँनेर मार्क्सवाद रहँदैन । मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्कोवाद हुन सक्छ, तर मार्क्सवाद हुँदैन ।’

‘जुन विकासले, जुन समृद्धिले सीमान्त वर्गको समृद्धिलाई समेट्दैन, आधारभूत वर्गका मान्छेसँग त्यो गाँसिँदैन, यस्तो विकासले समस्या ल्याउँछ है भन्नेचाहिँ आठौं, नवौं महाधिवेशनसम्म हामीले निकालेको निश्कर्ष हो’, उनले भनेका छन् ।

‘अहिले धेरै राम्रा कुराहरू पनि भएका छन् । हामीले संविधान बनायौं, नाकाबन्दीको सामना गर्‍यौं, चीनसँग सम्बन्ध बढायौं । अहिले वाम पार्टीहरुको एकताको कुरा गर्दैछौं । यी असाध्यै राम्रा कुरा भएका छन् । अब मुलुकको एकसूत्रीय एजेण्डा समृद्धि हुनेछ । आफैंमा यो गलत छैन’, उपमहासचिव भुसालले भनेका छन् ।

‘यहाँ पानीजहाज, रेलका बारेमा बहस भइरहेको छ, मान्छेका बारेमा बहस भएको छैन । रेलको कुरा छ, तर खोई मान्छेको कुरा ? न्यूनतम स्वतन्त्रताविना मान्छेको कुरा हुँदैन । मैले यो कुरा डराउँदै दोहोर्‍याएको हुँ’, उनले भने ।

‘हामीले सारा खानी, खोला, प्राकृतिक स्रोत नदीहरु बेचेर रेल ल्याउन लाग्यौं भने अनि त्यो सीमान्त श्रमजीवीको स्थिति के होला ? अनि यो चापाचापमा हाम्रो नेपाली जात कहाँ पुग्छ ?’, एमालेका उपमहासचिव भुसालले भनेका छन्, ‘यी विषयहरूमा किन छलफल चलाउन जरुरी छ भने सिद्धान्त र इतिहास सकिएपछि राजनीतिले पपुलिज्मको बाटो लिन्छ । पपुलिज्ममा केही झुण्ड अगाडि आउँछ । गुटहरु अगाडि आउँछन् । गुटका नायकहरु अगाडि आउँछन् । र, जुन दिन ती गुटहरुले काम गर्न छाड्छन्, सारा मुलुक र राजनीति ध्वस्त हुन्छ । सपना ध्वस्त हुन्छन् । त्यसबेला लेखकहरु, आलोचकहरुलाई सके कानूनले नसके दक्षिण अमेरिकामाजस्तो गुण्डा लगाएर मार्नेसम्म राज्य जान्छ । राज्य त्यहाँसम्म जान्छ । फासिस्ट बन्छ ।’

उनले अहिले वाम आन्दोलनमा यत्रो सम्भावनाको ढोका खुलेको बताएका छन् । ‘हामी समाजवादतर्फ जान सक्ने प्रशस्त सम्भावनाहरु छन् । तर, फेरि यो विकास, यो समृद्धि सिद्धान्त र विचारभन्दा अलग हुन्छ भनेर सोचियो भने नेपाली जातले चाँडै ठक्कर खान्छ, यसबाट हामी सतर्क रहनुपर्छ’, उनले भनेका छन् ।

सिद्धान्तको प्रश्न, नेपाली समाजको सैद्धान्तिक व्याख्या गर्ने अनि त्यसलाई मार्क्सवादी अर्थराजनीतिक हिसाबले अध्ययन गर्ने र निश्कर्ष निकाल्नेको कोल्टे फेराइको नेता झलनाथ खनाल भएको उनले बताए ।

‘आठौं महाधिवेशनभन्दा अगाडि उहाँ एमालेको महासचिव हुनुहुन्थ्यो । मैले उहाँलाई सोधेको थिएँ, कामरेड तपाईसँग असहमति राख्न पाइन्छ कि पाइँदैन ? म तपाईलाई सहयोग गर्छु, तर असहमति राख्न पाइन्छ कि पाइँदैन ?’, उनले भने ।

Published : Friday, 2018 April 13, 7:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया