चन्दा नपाएपछि विप्लवद्वारा कालिकामाथि बम आक्रमण

भरतपुर । चन्दा नदिएको झोँकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री एवम् पूर्वमन्त्री विक्रम पाण्डेको स्वामित्व रहेको चितवनको कालिका कन्स्ट्रक्सनको कार्यालय अगाडि विस्फोट गराएको छ ।

मंगलवार रातिको करिब साढे आठ बजेतिर नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक केशव शाहले कालिका कन्ट्रक्सनको अगाडि बम विष्फोट भएको जानकारी दिए ।

नेकपाका एक नेताका अनुसार कालिका कन्ट्रक्सनले माग गरेअनुसारको चन्दा नदिएपछि जनताले कारबाही गरेको जनाए ।

‘एकीकृत जनक्रान्तिका लागि आर्थिक सहयोग माग गरिएको थियो’, नेकपाका नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पैसा दिन आनाकानी गरेपछि बम आक्रमण भएको छ ।’ नेकपाभित्र कालिका कन्ट्रक्सनलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा दुई समूह रहेको छ ।

भवनको बाहिरपट्टी विस्फोट भएकाले कुनै पनि मानवीय क्षति भएको छैन । बमको छर्राले भवनका केही झ्यालका सिसा फुटेका छन् ।

अघिल्लो हप्ता पनि धरान, सिन्धुली चतरा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ५ नजिकै कालिका कन्स्ट्रक्सन अन्तर्गत रहेका निर्माण उपकरण तथा सवारी साधनमा बम र आगजनी भएको थियो ।

Published : Tuesday, 2018 April 10, 10:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया