यी हुन् कथित डन घैँटेका ‘काल’, बने प्रहरीको कमाण्डर

काठमाडौं । सरकारले नेपाल प्रहरीको २६औं महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाल नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त गरेको छ ।

खनालले २१ महिनासम्म प्रहरीको नेतृत्व गर्नेछन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रामबहादुर थापाले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाउने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री केपी ओली लगायत एमालेका मन्त्रीहरूको असहमतिका कारण साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रधानमन्त्री र गृहमन्त्रीको अलग्गै बैठक बसेको थियो ।

प्रचण्डले अघिल्लो पटक देउवाले वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त नगर्दा भएको लफडा स्मरण गराएपछि अन्ततः प्रधानमन्त्री वरिष्ठताकै आधारमा महानिरीक्षक नियुक्त गर्न सहमत भएका थिए ।

गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खनाल सबैभन्दा बढी अंकसहित एक नम्बरमा थिए । दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की थिए ।

खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए । खरेल र खनालले क्रमशः ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए ।

नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार आइजीपी नियुक्तिका लागि प्रस्ताव पेश गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामर्थ्यको मूल्याङ्कन गर्नुपर्नेमा अघिल्लो पटक अदालतसमेत विवादमा पर्ने गरी चलेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कनलाई प्रमुख आधार मानिएको थियो ।

खनाल नेपाल प्रहरीमा निडर र प्रभावशाली प्रहरीका रुपमा चिनिन्छन् । २०२३ सालमा तनहुँमा जन्मेका खनालले देशमा विद्यमान गुन्डागर्दी, आर्थिक ठगी र खेलकुद क्षेत्रमा देखिएका अपराधका विषयमा उल्लेखनीय काम गरेका छन् । आर्थिक विवादमा पनि नमुछिएर क्लिन छवि कायम गर्न उनी सफल छन् ।

२०४६ माघ २९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका खनाल महानगरीय अपराध अनुसन्धान महाशाखामा रहँदा गुन्डा नाइके कुमार घैँटेको इन्काउन्टरका कारण चर्चामा आएका थिए । २०७२ साल भदौ ३ गते घैँटे इन्काउन्टरमा मारिएका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरी अनुसन्धान गरेपछि खनाल झनै चर्चामा आएका थिए ।

विभिन्न उपकरण जडान जडान गरी तेलको मात्रा कम गरी पेट्रोलियम पदार्थ बेच्ने गिरोहको भण्डाफोर पनि खनालले गरेका थिए ।

शान्ति विद्या निकेतनबाट २०३८ सालमा एसएसलसी उत्तीर्ण गरेका खनालले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका छन् ।

प्रहरी निरीक्षक भएको नौ वर्षपछि उनी डिएसपीमा बढुवा भएका थिए । २०६८ सालमा एसएसपीमा बढुवा भएका खनाल गतसाल डिआइजीमा बढुवा भएका हुन् । बहालवाला सबै एआइजीको अवकाश हुने भएकाले उनको सीधै डिआइजीबाट आइजीमा बढुवा भएको छ ।

माओवादीले स्याङ्जा आक्रमणमा डिएसपीलाई मार्‍यौं भनेर सर्वेन्द्र खनाललाई छाडेका थिए । संयोग नै मान्नु पर्छ अहिले माओवादीले नै खनाललाई आईजिपी बनाएको छ । त्यस बेला खनाल स्याङजामा डिएसपी थिए ।

Published : Tuesday, 2018 April 10, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया