ओलीको कुर्सी हल्लिने गरेर माओवादी मन्त्रीहरूको गोप्य गतिविधि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतको राजकीय भ्रमणमा जानु अगाडि एकलौटी रुपमा सचिवहरूको सरुवा गरेपछि दोस्रो सत्तारुढ दल माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सचिवहरूको सरुवाको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापाले शुक्रबार राति पुल्चोकस्थित आफ्नै सरकारी निवासमा डिनरसहित माओवादी मन्त्रीहरूको गोप्य भेला बोलाएको उच्च स्रोतले जनाएको छ ।

भेलामा मात्रिका यादव र गिरिराजमणि पोखरेल बाहेकका सबै मन्त्रीहरूको उपस्थिति रहेको थियो । मन्त्री यादव ओलीसँगै भारत भ्रमणमा छन् । पोखरेल शिक्षा मन्त्रालयको कार्यक्रममा भाग लिन धुलिखेल गएका कारण गोप्य भेलामा सहभागी हुन सकेका थिएनन् ।

गोप्य भेलामा प्रधानमन्त्री ओलीले सचिवहरूको सरुवाका विषयमा माओवादीका मन्त्रीहरूसँग कुनै सल्लाह नगरेको भन्दै आलोचना व्यक्त गरेका थिए । मन्त्री थापाले गृह मन्त्रालयको सचिवमा प्रेम राईलाई सरुवा गरिदिएको पनि रुचाएका छैनन् ।

प्रधानमन्त्री ओलीविरुद्ध भएको माओवादी मन्त्रीहरूको गोप्य भेला शुक्रबार राति ९ देखि १२ बजेसम्म चलेको थियो । मन्त्रीहरूलाई थापाकै निवासमा खाना खुवाइएको उच्च स्रोतले जनाएको छ ।

शुक्रबार रातिको भेलाको निष्कर्षलाई गृहमन्त्री थापाले शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारस्थित निवासमा भेट गरेर जानकारी गराएका छन् ।

अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओलीले भारत जानु केही घण्टा अगाडि सचिवहरूको सरुवा गरेर मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो गरेका थिए । सचिवहरूको सरुवा मन्त्रिपरिषदले गर्नुपर्ने हुन्छ । तर, ओलीले ठाडो आदेशमा सचिवहरूको सरुवा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सचिव सरुवामा गरेको यो निर्णयले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रियालाई असरपार्न सक्ने एक मन्त्रीले बताए । दिल्लीमा ओलीले डिनर गरिररहेका बेला मन्त्री निवास पुल्चोकमा माओवादी मन्त्रीहरूले ओलीविरुद्ध गुट बन्दी गरेका हुन् ।

Published : Saturday, 2018 April 7, 7:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया