काठमाडौंमा भन्दा धेरै प्रदुषण हुने शहर प्रदेश ५ मा

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले क्यान्सरविरुद्धको तेल नेपालमा प्रशस्त उत्पादन गर्न सकिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले नेपालकै वन जंगलमा पाइने लोठ सल्लाबाट क्यान्सरविरुद्धको तेल उत्पादन गर्न सकिने बताएका हुन् ।

‘किमो थोरापी गर्न आवस्यक पर्ने तेल हाम्रै जंगलमा पाइने लोठ सल्लाबाट उत्पादन हुन्छ’, उनले भने, ‘लोठ सल्लाको तेल बाहिरबाट मगाउने अवस्था छ ।’

लोठ सल्लालाई संरक्षण गर्नु आवश्यक रहे पनि त्यसबाट उत्पाद हुने तेललाई व्यावसायिक रुपमा उत्पादन गर्न सक्दा जीविकोपार्जनमा समेत सहयोग मिल्ने उनले बताए ।

उपयुक्त नीति बनाएर वन जंगलको संरक्षण र उचित उपभोगको व्यवस्था गर्न आफू लागेको मन्त्री बस्नेतले बताए । अव्यवहारिक ऐन नियमका कारण जडीबुटी जंगलमा कुहिएर गएको उनको भनाई थियो ।

कृषि वनको नीतिलाई सहज बनाउने विषयमा पनि आफूले गृहकार्य सुरु गरेको मन्त्री बस्नेतले बताए । ‘निजी जग्गामा रुख लगाउँदा पछि काट्न पाइँदैन । काटेर बेच्न वा उपभोग गर्न नपाएपछि व्यक्तिले किन रुख लगाउँछ ?’, प्रश्न गर्दै वनमन्त्री बस्नेतले भने, ‘व्यवहारिक वन नीति र ऐन नहुँदा धेरै समस्या भएका छन् ।’

मन्त्री बस्नेतले काठमाडौंमा भन्दा पनि लुम्बिनीमा प्रदुषण धेरै रहेको रिपोर्ट आएको बताए । ‘काठमाडौंमा भन्दा पनि लुम्बिनीमा धेरै प्रदुषण रहेको छ’, उनले भने, ‘काठमाडौंको धुलो नियन्त्रण गर्नका लागि वातावरण विभागमा अलग्गै धुलो नियन्त्रण ईकाई गठन गरेको छु । रिपोर्ट बुझाएको छ । छिटै कार्यान्वयन हुन्छ ।’

नेपालको ४५ प्रतिशत जंगललाई संरक्षण र उपभोग दुबै नीति बनाउनुपर्ने सुझाव आएको उनले बताए । उचित व्यवस्थापन नहुँदा आफ्नै वन जंगलको सस्तो काठ उपभोग गर्न नसकिएको भन्दै मन्त्री बस्नेतले भने, ‘हाम्रै जंगलको काठ उपभोग गर्न सकिएको छैन । मलेसियाबाट काठ किनेर ल्याउनु पर्ने अवस्था छ ।’

Published : Monday, 2018 April 2, 4:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया