फास्ट ट्रयाक बन्न नदिन राष्ट्रसंघका कर्मचारी नै विरोधमा उत्रिए

ललितपुर । फास्ट ट्रयाक निर्माणमा अबरोध गर्न विश्वका १६ मुलुकमा बस्ने नेवार समुदायका प्रतिनिधि ललितपुरमा जम्मा भएका छन्

खोकनाको सिकालीमा आइतबार जम्मा भएका उनीहरूले फास्ट ट्रयाकको विरोध गरेका हुन् । विश्व नेवाः संगठनमा आबद्ध नेवार समुदायका अभियन्ताहरू आन्दोलनमा ऐक्यबद्धता जनाउन ललितपुर आइपुगेका हुन् ।

आन्दोलनमा सहभागिता जनाउन संयुक्त राष्ट्रसंघ न र आईएलओमा कार्यरत स्थानीय नेवार समुदायका व्यक्तिसमेत सहभागी भएका छन् । खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले विश्वका १६ मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायका प्रतिनिधि सिकालीमा जम्मा भएको बताए ।

फास्ट ट्र्याकका कारण वातावरणीय प्रभाव, सांस्कृतिक सम्पदा एवं जनजीवनमा गम्भीर प्रभाव पर्ने भन्दै स्थानीय बासिन्दा आन्दोलित छन् । उनीहरूले दीर्घकालीन असर पार्ने खालको निर्णय नगर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।

खोकना जनसरोकार समिति तथा खोकना सांस्कृतिक पुनर्जागरण समितिको संयुक्त आयोजनामा विरोध कार्यक्रम भइरहेको छ ।

नेपाली सेनाले फास्ट ट्र्याकका लागि अस्थायी क्याम्प खडा गरेर बसेको छ । डंगोलका अनुसार खोकनाको सात हजार रोपनी जग्गामध्ये पाँच हजार रोपनी ‘फास्ट ट्र्याक’ मा पर्ने देखिएको छ ।

ललितपुर महानगरपालिका २१ वडा नम्बरका अध्यक्ष रवीन्द्र महर्जनले भने स्थानीयका मर्कामा सेना सकारात्मक देखिएको बताए । यस विषयमा स्थानीयसँग छलफल गरेर प्रस्ताव ल्याउन सेनाले आग्रह गरेको जानकारी दिए ।

सेनाले फास्ट ट्र्याक सुरु गर्नुअघि खोकनाका सांस्कृतिक क्षेत्रलाई संरक्षण गर्ने, वातावरणीय प्रभाव मूल्यांकन, मुआब्जाजस्ता विषयको टुंगो लगाउनुपर्ने माग स्थानीयको छ । विवादका विषयमा स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सोमबार छलफल हुने भएको छ ।

Published : Monday, 2018 April 2, 10:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया