खड्काको शव राति आइपुग्ने, छोरा आइतबार बिहान आउने

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीरलाई आइतबार मात्रै अन्तिम श्रद्धाञ्जलि दिइने भएको छ । नेता खड्काको शरीरलाई शनिबार राति नौ बजे जेट एयरको उडानबाट काठमाडौं ल्याइनेछ ।

स्वर्गीय खड्काका आफन्तका अनुसार नेता खड्काको पार्थिव शरीरलाई कांग्रेसको केन्द्रीय कार्यालय सानेपालमा आइतबार बिहान ९ बजे राख्ने कार्यक्रम रहेको छ । अन्तिम श्रद्धाञ्जलि दिएपछि पशुपति आर्यघाटमा नेता खड्काको दाहासंस्कार गर्ने गरेर तयारी भएको छ ।

मृगौला, नसा र कलेजोसम्बन्धी रोगबाट पीडित खड्काको शुक्रबार साँझ नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । खड्काले विगत ४० दिनदेखि दिल्लीमा उपचार गराउँदै आएका थिए ।

खड्काको उपचारमा पत्नी शिला गौतम खड्का र छोरीसहितका आफन्त एपोलो अस्पतालमा थिए ।

स्वर्गीय खड्काका छोरा अनुराग खड्का स्कटल्याण्डमा अध्ययनरत छन् । अनुराग आइतबार बिहान दश बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको आफन्तले जनाएका छन् । एयर इण्डियाको उडानबाट अनराग आफ्ना बाबुलाई दागबत्ती दिन काठमाडौं आइपुग्नेछन् ।

यसैबीच, नेता खड्काको निधनको खबर पाएपछि शुभेच्छुक र आफन्त सानेपामा जम्मा भएका छन् । शनिबार बिहानैदेखि सानेपास्थित खड्काको निवास अगाडि शुभेच्छुकहरू जम्मा भएको जनाइएको छ ।

उता, गृहजिल्ला दाङमा पनि शुभेच्छुक र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले खड्कालाई स्मरण गरेका छन् । उनीहरूले घोराहीस्थित पार्टी कार्यालयमा जम्मा भएर खड्काप्रति श्रद्धाञ्जलि दिएका छन् ।

Published : Saturday, 2018 March 31, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया