एमालेको दोहोरो चरित्रले ‘प्रचण्ड’ दिक्क, किचन क्याबिनेटमा गोप्य कुरा

काठमाडौं । भारत भ्रमण अगाडि पार्टी एकीकरणका लागि दवाव दिइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इच्छा तत्काल पूरा नहुने भएको छ । भारत भ्रमण अगाडि ओलीले पार्टी एकीकरण गर्ने भनेर बाहिर बोलेपनि भित्री रुपमा भने उनले एकीकरण रुचाएका छैनन् ।

ओलीले भारत भ्रमणमा जानु अगाडि माओवादीसँग एकीकरण गर्दा त्यसको सन्देश नकारात्मक हुने आफू निकटका एमालेका नेताहरूसँग भन्ने गरेका छन् । त्यसको जवाफमा प्रचण्डले पार्टी एकताका लागि बराबरी अनुपातमा भागवण्डा हुनुपर्ने बताएर ओलीलाई चुनौती दिएका छन् ।

स्रोतका अनुसार ओलीले रक्षामन्त्री समेत रहेका महासचिव ईश्वर पोखरेल, एमालेका सचिव एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, एमालेका नेता राजन भट्टराई, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटासहितको आफू निकटका नेताहरूको समूहसँग भारत भ्रमण अगाडि एकीकरण गर्न नहुने बताउने गरेका हुन् । ओलीको कुरा सुनेपछि उनीहरूले पनि सोही अनुसारको सहयोग गर्न सुरु गरेको एक नेताले बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीको भारत भ्रमण अगाडि एमालेसँग ५०–५० कै बराबरीमा एकीकरणको माग गरेका छन् । एमालेले प्रतिनिधि सभाको निर्वाचनका बेला आएको मत परिणामअनुसार ७०–३० को अनुपातमा पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमालेको असमान प्रस्तावपछि माओवादीका अध्यक्ष प्रचण्ड रिसाएको स्रोतले जनाएको छ ।

एमालेको हेपाहा प्रस्तावपछि प्रचण्डले बराबरीको प्रस्ताव अगाडि सारेका हुन् । बराबरीको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रणनैतिक दवाव हो । माओवादीका एक नेताले भने–‘एमालेले पार्टी एकीकरण चाहेको छैन । माओवादीलाई दवावमा राखेर एमालेमा माओवादीलाई बिलय गराउन खोजी रहेको छ ।’

निर्वाचन अगाडि पार्टी एकीकरण ६०–४० अनुसार गर्ने सहमति भएको थियो । निर्वाचनमा एमालेले धेरै सिट जितेपछि माओवादीलाई पछिल्लो हैसियतअनुसार स्थान दिने सहमति थियो । तर, अहिले आएर एमालेका नेताहरू त्यो सहमति मान्न आनाकानी गरिरहेका छन् ।

त्यति मात्रै होइन पार्टी एकीकरणका लागि गृहकार्य गर्न बनेका दुई वटा कार्यदलहरू निश्क्रिय छन् । माओवादीभन्दा पनि एमालेका नेताहरूले नै बैठक बस्न रुची नदेखाएको आरोप छ ।

केही दिन अगाडि गोकर्णस्थित एक रिसोर्टमा दुई दिनसम्म कार्यदलका सदस्यहरूको बैठक बसेको थियो । त्यो बैठकले केही गृहकार्य गरे पनि महत्वपूर्ण विषयमा कुनै पनि सहमति जुटाउन सकेन । रिसोर्टमा बसेर महँगा खानेकुरा र मदिरासहितको डिनभन्दा केही गर्न नसकेको भनेर आलोचना भएको छ ।

Published : Friday, 2018 March 30, 1:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया