दाङ १ को विकासका लागि चौधरीले बनाए विशेष कार्ययोजना

काठमाडौं । दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणि चौधरीले आफ्नो क्षेत्रमा गर्नुपर्ने विकासका कार्यक्रमको जानकारी दिन आफ्ना मतदाताहरूसँग आग्रह गरेका छन् ।

सांसद चौधरीले क्षेत्र नं. १ मा बाटो निर्माण, विद्यालय अपग्रेडदेखि मोबाइल टावरसम्मका सानातिना कुरा कहाँ–कहाँ आवश्यक छ सोको जानकारी दिन आग्रह गरेका छन् । उनले आगामी नयाँ वजेटमा विकास कार्यक्रमहरू राख्ने जनाए ।

‘मेरो निर्वाचन क्षेत्रको लागि विशेष कार्ययोजना तयार गरिरहेकोले यस क्षेत्रमा कहाँ कुन काम प्राथमिकतामा राख्नु पर्नेछ ? यहाँहरूको नजरमा के देख्नु भएको छ ? सो कुराको जानकारी दिएर सहयोग गर्नको लागि अनुरोध छ’, सांसद चौधरीले भनेका छन् ।

बाटो र सडक निर्माण, विद्यालयको अपग्रेड वा दरबन्दी थप, खानेपानी (नयाँ या पुरानो मर्मत), पुलपक्की, झोलुङेपु, नहर (पक्की वा मर्मत), टेलिफोन टावर, राप्ती नदीमा पुल लगायतका विकास कुन–कुन स्थानमा आवश्यक रहेको छ भनेर चौधरीले सुझाव माग गरेका हुन् ।

नेकपा (एमाले)बाट प्रतिनिधि सभामा पहिलो पटक निर्वाचन भएर आएका सांसद चौधरीले आफ्नो क्षेत्रका विकास निर्माणका लागि विशेष कार्ययोजना बनाएर अगाडि बढ्ने बताउँदै आएका छन् ।

सांसद चौधरीले दाङ क्षेत्र नं. १ का खर वा फुसको छानो भएका स्थानीयहरूलाई निःशुल्क जस्तापाता विरतण गर्ने महत्वकांक्षी योजना निर्वाचनकै बेला घोषणा गरेका थिए । निःशुल्क जस्तापाता आगामी वैशाखदेखि वितरण गर्ने योजना चौधरीले बनाएका छन् ।

Published : Friday, 2018 March 30, 1:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया