आमाले छ वर्षीय छोरालाई आइरनले डामिन्

विराटनगर । विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेले आफ्नै छ वर्षीय छोरालाई आइरनले डामेपछि पक्राउ गरेको छ ।

सरलाविरुद्ध बुधबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । सरलाले छोरा सवनमलाई मंगलबार बिहान आइरनले डामेर गम्भीर घाइते बनाएकी थिइन् ।

उनको विराट नर्सिङ होममा उपचार भएको छ । अस्पतालले बुधबार डिस्चार्च गरेपछि उनलाई बुबा विक्रम काफ्लेले घर लिएर गएका छन् ।

मोरङका एसपी अरुण बिसीका अनुसार मंगलबार बिहान पढ्न नमानेको भन्दै सरलाले छोरालाई आइरनले डामेर चरम यातना दिएकी थिइन् । घाइते छोरालाई उपचार गराउनुको साटो उनले उल्टै विद्यालय पठाएकी थिइन् ।

सवनम घाइते भएको उनको विद्यालय अन्नपूर्ण बोर्डिङ स्कुलका शिक्षकले पत्ता लगाएका थिए । बच्चा इन्तु न चिन्तु अवस्थामा देखेपछि उनीहरूले सोधपुछ गरेका थिए ।

बच्चाको कपडा खोलेर हेर्दा शरीरभरि पोलेको डाम देखेपछि विद्यालयले नै प्रहरी र अन्य अभिभावक बोलाएको थियो । प्रहरीले आमा सरलालाई विद्यालयबाटै पक्राउ गरेको छिमेकी चापागाईंले बताए ।

विद्यालयले नै बाबु विक्रमलाई खबर गरेको थियो । उनी काठमाडौं बस्दै आएका छन् । उनको श्रीमती सरलासँग राम्रो सम्बन्ध छैन । सरलाले सम्बन्ध विच्छेद गर्न मानेकी छैनन् ।

विराटनगर घरमा आमा–छोरा मात्र बस्दै आएका थिए । विक्रमले छोरालाई आफूसँगै लैजान चाहे पनि सरलाले आफ्नो अधिकार भएको भन्दै दिएकी थिइनन् ।

सरला र विक्रमबीच सात वर्ष पहिला विवाह भएको थियो । सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएपछि एक मात्र छोरा सवनम आमासँग थिए । विक्रम भने आफ्ना बाबुआमासहित काठमाडौं बस्दै आएका छन् ।

विक्रम वैदेशिक रोजगारीमा गएपछि सरलासँग उनको सम्बन्धमा दरार उत्पन्न भएको थियो । सरला पनि वैदेशिक रोजगारीमा केही समयका लागि गएकी थिइन् ।

Published : Thursday, 2018 March 29, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया