मनीष आत्महत्या प्रकरणका दोषीले पाए सफाइ

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् ।

मनीषाको मृत्युको कारण झुन्डिएर भएको पुष्टि भएको भन्दै नवलपरासी जिल्ला अदालतले उनलाई सफाई दिएको हो ।

गत वर्ष जेठ १३ गते बिहान मनीषा बर्दघाट–८ ‍स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको आशङ्कामा प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको मृत्यु झुन्डिएरै भएको उल्लेख गरेका थिए । मनीषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयमार्फत् आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएको थियो ।

जिल्ला न्यायाधीश रीतेन्द्र थापाको इजलासले गरेका फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनीषाको मृत्युको कारण झुन्डिएर नै भएको उल्लेख गरिएको छ ।

प्रहरीले त्यतिखेर सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा मनीषाको हत्या प्रेमी चौधरीले गरेको उल्लेख थियो ।

पोलिग्राफ टेस्टमा भने आशिषले घाँटी थिचेर मारेको अस्वीकार गरेका थिए । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा पनि मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइएको थियो ।

गत वर्ष जेठ १२ गते राति घटना भए पनि प्रहरीले भोलिपल्ट बिहान मनीषाको घरमा पुगी अनुसन्धान थालेको थियो ।

Published : Tuesday, 2018 March 27, 6:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया