गुन्डा नाइकेलाई ज्यानको माया, उठाए नयाँ कदम

काठमाडौं । आफ्ना कामले निम्त्याउने संकटसँग कसलाई पो डर लाग्दैन र ? राम्रै गरेपनि डराउने कम छैनन् । धर्म ग्रन्थमा नै उल्लेख छ, आफ्ना सुविधाका लागि सृष्टि गरिएका दानव भष्मासुरसँग महादेव डराएर भाग्नुपरेको थियो । मान्छेलाई त डर किन नहुनु ? यही नियती अहिले एकजना डनलाई परेको छ ।

एकताकाका चर्चित गुण्डा नाईके काजी शेर्पा अहिले ज्यान जोगाउन बुलेटप्रुफ ज्याकेटको साहारा लिने गरेको रहस्य खुलेको छ । प्रहरी ईन्काउन्टर र आफ्ना दुश्मनबाट बच्न तथा कुनै पनि समय आफूमाथि हमला हुन सक्ने आशंका गर्दै गुन्डा नाइके शेर्पाले बुलेटप्रुफ ज्याकेटको प्रयोग गर्ने गरेको उनी निकटका एकजना साथीले बताए ।

एक दशकदेखि प्रहरी र सेनामा रासनदेखि लत्ताकपडा सप्लाई गर्दै आएका शेर्पा ठेक्कापट्टामा समेत राम्रै जमेका छन् । गुण्डागर्दीको आडमै ठेक्कापट्टामा जमेका शेर्पा पछिल्लो समय लेनादेनाको बिबादकै कारण प्रहरी हिरासतसम्म पुग्दै आएका छन् ।

प्रहरीसँग भन्दा पनि पुराना आफ्नै समूहबाट बिच्किएका केही समूहबाट खतराको संकेत पाएपछि शेर्पाले बुलेटप्रुफ ज्याकेट लगाउने गरेको उनी निकट एक व्यक्तिले बताए ।

शेर्पाले एक दशक अगाडिसम्म प्रहरी ईन्काउन्टरमा मारिएका घैंटे भनिने कुमार श्रेष्ठ र हाल नख्खु कारागारमा रहेका अर्का गुण्डा नाईके समिरमान बस्नेतलाई हात लिएर काठमाडौंमा गुण्डागर्दी गर्ने गरेको प्रहरी भनाइ छ ।

शेर्पालाई अहिले त्यही समूहबाट खतरा बढेको स्रोतको दाबी छ । घैंटे ईन्काउन्टरमा मारिएपछि भारतको बिभिन्न ठाँउमा बसेर गुण्डागर्दी गर्दै आएका बस्नेतलाई तीन महिना अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले पक्राउ गरेको थियो ।

निमार्ण व्यवसायी शरदकुमार गौचन हत्यासहति आधा दर्जन अभियोग लागेका बस्नेत हाल मुद्दा पुर्पक्षको लागि कारागारमा छन् । घैंटे ईन्काउन्टर पश्चात कुनै सहयोग नगरेको भन्दै बस्नेतले शेर्पालाई धम्क्याएपछि शेर्पाले बुलेटप्रुफ ज्याकेट लगाउन थालेको स्रोतको दाबी छ ।

डलर देखाएर लुट्ने धन्दाका जन्मदाता शेर्पा गुण्डा नाईके हुँदै अहिले चल्तीका ठेकदारका रूपमा चिनिन्छन् । उनले ठेक्का हत्याउन गुण्डागर्दी कै शैली अपनाउने गरेको निमार्ण व्यवसायीहरू बताउँछन् ।

Published : Tuesday, 2018 March 27, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया