विपक्षी समूहद्वारा देउवालाई बैठकमा घेराबन्दी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा इतिहासमै जग हँसाउने प्रधानमन्त्री भएको बताएका छन् ।

कांग्रेसको केन्द्रिय समिति बैठकमा चुनावी समिक्षाको प्रतिवेदन पेश गर्दै उनले यस्तो बताएका हुन् । उनले पेश गरेको ९ पन्ने प्रतिवेदनमा ६४ जनाको मन्त्रीपरिषद् बनाएर देउवाले लोक हँसाएको उल्लेख छ ।

‘नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ’, उनले देउवालाई कटाक्ष गर्दै भनेका छन्,’ ‘सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नु र्पयो ? यस विषयमा गंभीर भएर कहिल्यै सोच्नु भएको छ ?’

सभापतिमा राजनीतिक सुझबुझ नहुँदा बाम गठबन्धनले निर्वाचन जितेको भन्दै उनले देउवाको आलोचना गरे ।

‘हाम्रो सभापतिजीले राजनीतिक धैर्यता सझबुझ नदेखाएकोले त्यही पृष्ठभूमीमा टेकेर कथित वाम गठबन्धनले निर्वाचनमा सफलता प्राप्त गरिहँदा हामीले दुःखद पराजय भोग्नुपरेको यथार्थलाई भुल्नु हुँदैन’, सिंहले भने ।

प्रजातन्त्र र स्वतन्त्र न्यायविरुद्ध हुने गरी प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको सिंहको प्रतिवेदनमा उल्लेख छ । पार्टीको आदर्श र सिद्धान्त विपरीत काम गर्दा पार्टीको लोकप्रियतामा धक्का लागेको उनले बताएका छन् ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शीघ्र महाधिवेशनको माग गरेका छन् ।

नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामान्तवादी व्यवहारका कारण कांग्रेसले चुनाव हारेको उनको विश्लेषण छ ।

बैठकमा सिटौलाले पार्टी सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि आलोचना गरे ।

तत्कालीन सभापति सुशील कोइरालाले प्रधानमन्त्री उम्मेदवार बनाउनेदेखि नाकाबन्दीको विरोध, आईजीपी प्रकरण, लोकतान्त्रिक गठबन्धन लगायतका विषयमा आफूले समयमै नेतृत्वलाई सचेत गराएपनि सुनुवाई नभएको उनले बताए ।

देउवाले एकलौटी ढंगले निर्णय गर्नुका साथै टिकट वितरणमा मनोमानी गरेको उनको आरोप छ ।

अब शीघ्र महाधिवेशन गरेर परिर्वतनको सन्देश दिन सक्नुपर्ने उनले बताए । ‘होइन भने तपाईहरुले पार्टी त कब्जा गर्न सक्नुहोला तर, देश अरुले नै कब्जा गर्छन्’ उनले भने । कांग्रेसको बैठक शनिबार पुनः बस्ने गरेर सक्किएको छ ।

Published : Friday, 2018 March 23, 5:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया