३३ किलो सुनकाण्डमा एसएसपी लोहोनीविरुद्ध उठ्यो प्रश्न

काठमाडौं । गृह मन्त्रालयले तस्करीको साढे ३३ केजी सुन काण्डमा प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्न डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिती गठन गरेको छ ।

गृह स्रोतका अनुसार सोमबार गठन भएको रेग्मी नेतृत्वको समितिमा एसएसपी बसन्त लामा, डिएसपी सुदीप पाठक र इन्सपेक्टर भीष्म हुँमागाईं रहेका छन् । समितिले मंगलबारदेखि नै काम शुरु गरेको छ । मंगलबार एसएसपी लामा अपराध महाशाखामा पुगी केही प्रहरी अधिकारीहरुसँग बयान लिएका थिए ।

तस्करीको साढे ३३ केजी सुन काण्डमा संलग्न भरिया सनम शाक्यको हत्या भएपछि महानगरीय अपराध महाशाखा र मोरङ प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरेका थिए ।

उक्त सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका भरिया शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो । अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेपनि असली सुन मालिक र हत्यामा संलग्न अन्य ४/५ जनालाई अझै पक्राउ गर्न सकेको छैन ।

त्यस्तै ठूलो परिमाणको उक्त सुनको बारेमा पनि महाशाखाले अहिलेसम्म कुनै ठोस विवरण सार्वजनिक गर्न सकेको छैन । अभियुक्तहरु पक्राउ पर्नु र सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको आशंका गरिएको छ ।

हत्यामा संलग्न उनीहरुलाई सुन तस्करीका नाइके चूडामणी उपे्रतीले हराएको सुन खोज्न खटाएका थिए । प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उक्त सुनका मालिक उप्रेती रहेको खुलिसकेको छ । उप्रेती प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।

उक्त सुन बारे महाशाखाले यथार्थ विवरण बाहिर नल्याएपछि महाशाखाका प्रहरीहरु शंकाको घेरामा परेका हुन् । गृह मन्त्रालयमा तस्करीको सुन प्रहरीले नै लुकाएको उजुरी परेपछि महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनी पनि अनुसन्धानको घेरामा परेका छन् ।

छानविन समितिका एसएसपी लामा मंगलबार महाशाखामा पुग्दा महाशाखा प्रमुख एसएसपी लोहनी विदामा बसेका थिए । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने अनुसन्धान अझै नसकिएको हुँदा यस बारेमा थप केही पनि सार्वजनिक गर्न नमिल्ने बताउँछन् ।

यस्तो थियो घटना

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विराटनगर–३, पोखरिया कन्यामार्गमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा शाक्उ मृत अवस्थामा भेटिएका थिए ।

अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटेको थियो । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण शाक्यलाई सिराहाबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको थियो । मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्य फागुन १५ गते अपहरणमा परेका थिए ।

शाक्यले तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याउँदा निश्चित रकम पाउने भनिएको थियो । तर, एकाएक सुन गायब भएपछि पहिलो निशानामा परे शाक्य । जसले तस्करीको सुन गलत व्यक्तिको हातमा थमाए ।

सुन हराएपछि मालिकहरुबीच हल्लिखल्ली मच्चियो । सुन मालिकले भरियाको सुराकी गर्न काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की र मोहन काफ्लेलाई खटाए ।

यद्यपि, सुन गलत व्यक्तिको हातमा पुगेपछी सिराहामा लगेर यातना दिइ शाक्यको हत्या गरी भारततर्फ लैजादै गर्दा विराटनगर–३, पोखरियामा उनीहरु प्रहरी फन्दामा परेका थिए ।

तर, त्यसपछि प्रहरीले यस बारेमा थप विवरण अहिलेसम्म पनि बाहिर ल्याउन सकेको छैन । जसका कारण प्रहरीको नियत माथि नै शंका देखिएको भन्दै गृहले छानविन समिति गठन गरेको हो ।

यसअघि पनि १८ किलो सुन तस्करीमा बेइमानी गरेपछी रसुवाका २९ वर्षे गगन लामाको असोजमा छुरा प्रहार गरी स्वयम्भूमा हत्या भएको थियो ।

महाशाखाका अनुसार गगनले रसुवागढी नाका हुँदै ल्याएको १८ किलो तस्करीको सुनमध्ये १२ किलोमात्र साहुलाई जिम्मा लगाएका थिए ।

सुन बुझाएपछि उनी फरार थिए । तर, ६ किलो सुन हिनामिना भएपछि सुनका चिनियाँ मालिक लाक्पा ग्याल्जेन तामाङलगायत भरियामाथि दबाब दिएएर हत्या गर्न लगाएका थिए ।

Published : Thursday, 2018 March 22, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया