मन्त्री बन्न रेणु र राजेन्द्रद्वारा ‘बबण्डर’, उपेन्द्र हैरान

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चयन गर्न बसेको संघीय समाजवादी फोरम नेपालको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।

काठमाडौंको तीनकुनेस्थित पार्टी मुख्यालयमा आइतबार बसेको पदाधिकारीहरूको बैठकमा मन्त्रीहरू चयनको विषयमा कुरा नमिलेको स्रोतले जनाएको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने विषयमा सबै पदाधिकारी सहमत भएका छन् ।

तर, बाँकी रहने एक मन्त्रालयमा को मन्त्री बन्ने विषयमा विवाद हुँदा मन्त्रीको चयन हुन नसकेको एक नेताले बताए । मन्त्रीको विषयमा विवाद भएपछि बैठकले संविधान संशोधनका बारेमा प्रधानमन्त्री केपी ओलीसँग थप परामर्श गरेर मात्रै थप निर्णय गर्ने सहमति भएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेर सरकारमा जाने मन्त्रीको निर्णय हुने बताए ।

प्रधानमन्त्री ओलीले संघीय फोरमलाई दुई मन्त्रालय र एक राज्य मन्त्री दिने सहमति जनाएका छन् । तर, फोरमभित्रको आन्तरिक विवादले मन्त्रीहरूले शपथ लिन पाएका छैनन् ।

मन्त्री बन्नका लागि समानुपातिकका सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठले दाबी गर्दै आएका छन् । उनीहरूलाई मन्त्री बनाउन नहुने भन्दै प्रत्यक्षबाट निर्वाचित सांसदहरूको दवाव छ ।

संघीय फोरमका सांसद र नेताहरूले मन्त्री चयन गर्दा जातीय, क्षत्रीय र समावेशी बनाउन दवाव दिँदै आएका छन् ।

Published : Sunday, 2018 March 18, 6:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया