मन्त्री बन्न अध्यक्षसँग ‘बगावत’

काठमाडौं । संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले मन्त्री बन्नकै लागि हुँदै नभएको गुट सिर्जना गरेर बखेडा खडा गरेको रहस्य बाहिर आएको छ ।

पटक–पटक मन्त्री बनेर लाभको पद लिइसकेकी नेतृ यादवले आफूलाई मन्त्री नबनाइए जे पनि गर्ने भन्दै अध्यक्ष उपेन्द्र यादवलाई धम्क्याउने गरेको उच्च स्रोतले जनाएको छ । ‘अध्यक्ष उपेन्द्र यादवविरुद्ध रेणु यादव खुलेर मोर्चाबन्दी सुरु गरिसक्नु भएको छ’, एक पदाधिकारीले भने, ‘उहाँले अध्यक्ष यादवका हरेक गतिविधिलाई निगरानी गर्न पार्टी कार्यालयमा ‘सुराकी’ नै प्रयोग गर्नुभएको छ ।’

स्रोतका अनुसार उपाध्यक्ष नेतृ यादवले पार्टी केन्द्रीय सदस्य सन्तोष सिलवाललाई अध्यक्ष यादवविरुद्ध ‘सुराकी’ गर्न प्रयोग गरिरहेकी छिन् । पार्टी सरकारमा गएपछि आफू मन्त्री हुने र आफ्नो स्वकीय सचिव बनाउने प्रलोभन दिएर सिलवाललाई अध्यक्षविरुद्ध ‘सुराकी’को रुपमा प्रयोग गरेकी हुन् ।

नेतृ यादवको षड्यन्त्र नबुझेका सिलवाल भने बिहानदेखि बेलुकासम्मै अध्यक्ष यादवविरुद्ध ‘सुराकी’ गरेर पार्टी कार्यालयमा खट्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा ती पदाधिकारीले बताए ।

त्यति मात्रै होइन नेतृ यादवले उपेन्द्र यादवका सवारी चालक रमाकान्त साहलाई पनि आफ्नो बसमा पारेको स्रोतको दाबी छ । नेतृ यादवले चालक साहलाई पनि आर्थिक प्रलोभन दिएर अध्यक्षको ‘सुराकी’ गर्न लगाएको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष कहाँ जान्छन् ? कोसँग भेट्छन् ? के–के गतिविधि गर्छन ? त्यसका लागि सिलवाल र साहलाई नेतृ यादवले खटाएकि हुन् । अध्यक्ष यादवले पार्टी हितविपरीत निर्णय गर्न अस्वीकार गरेपछि नेतृ यादव यसरी ‘सुराकी’ नै खटाएर षड्यन्त्रमा लागेको उपाध्यक्ष यादव निकट स्रोतको दाबी छ ।

सिलवाल र साहमार्फत अध्यक्ष यादवको सूचना लिएर सोहीअनुसारको नेतृ यादवले रणनीति बनाउँदै आएकी छिन् । ‘मलाई मन्त्री नबनाउने हो भने जे पनि गर्छु’, उपाध्यक्ष यादवको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म जस्तो सक्षम नेतृलाई मन्त्री बनाउनु पर्छ । होइन भने उपेन्द्र यादवको बेहाल बनाउँछु ।’

फोरम नेपालमा कथित गुट चलाएर बसेकी उपाध्यक्ष यादवका गतिविधिबाट अध्यक्ष यादव आजित बनेका छन् । अध्यक्ष यादव मात्रै होइन, पदाधिकारीभित्रका प्रायः सबैजना नेतृ यादवको क्रियाकलापले वाक्कदिक्क छन् ।

प्रधानमन्त्री केपी ओलीसँगवार्ता र सम्वाद गरेर उपेन्द्र यादवले सरकारमा सहभागी हुन अन्तिम तयारी गरेका छन् । ओली र यादवबीच लिखित सहमति हुन मात्रै बाँकी छ । तर, सहमतिलाई भाँड्ने गरी नेतृ यादवले गतिविधि गरेपछि फोरम नेपालका नेताहरू आक्रोशित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका सांसदलाई मात्रै मन्त्री बनाउने भित्रि तयारी गरेका छन् । अध्यक्ष यादवको योजना थाहा पाएपछि सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रलोभनसहित साथमा लिएर उपाध्यक्ष यादवले गुटको राजनीति सुरु गरेकी हुन् ।

उपाध्यक्ष यादव र श्रेष्ठ समानुपातिक सांसद हुन् । अध्यक्ष यादवले बनाएको मापदण्डअनुसार नेतृ यादव र श्रेष्ठ मन्त्री बन्न पाउने छैनन् ।

Published : Tuesday, 2018 March 13, 10:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया