अर्बौं घोटलामा फस्दै टेलिकमकी प्रबन्ध निर्देशक

काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवा विस्तारका लागि चिनियाँ कम्पनीलाई दिन लागेको ठेक्कामा अर्बौं रकम घोटला हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन शुरु हुने भएको छ ।

अख्तियार स्रोतका अनुसार टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ५ अर्बमा हुने कामलाई ३२ अर्बमा चिनियाँ कम्पनीलाई टेण्डर सुम्पिएर ठूलो रकम घोटला गर्न लागेपछि अख्तियारले छानविन शुरु गर्न लागेको हो । यसअघि पनि काठमाडौं र पोखरा बाहेकका अरु जिल्लामा फोरजीको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई दिनेगरी रातारात कामिनीकै दवावमा टेण्डरको मूल्यांकन गरिएको थियो ।

टेलिकम स्रोतका अनुसार स्वच्छ प्रतिस्पर्धा गरि सेवा विस्तार गर्दा ५ अर्ब भन्दा बढि रकम नलाग्ने भएपनि प्राविधिक, व्यवसयिक र वित्तिय अवस्था हेरेर भन्दै चिनियाँ कम्पनीलाई टेण्डर सुम्एिर अर्बौं घोटला गर्न लागिएको हो । टेलिकमले फोर जी विस्तारका लागि दुई वटा टेण्डर खोली सकेको छ ।

टेलिकमले आब्हान गरे अनुसार पुस २४ गते कोर इक्युप्मेन्ट र २६ गते बीटिएस टावरलगायतका उपकरणका लागि चिनियाँ कम्पनी जेटिइ र सीसीएसआई कम्पनीले टेण्डर हालेका थिए । यसअघि हुवावेलाई काठमाडौं र पोखरामा फोर जी सेवाको टेण्डर दिंदा पनि ठूलो विवाद भएको थियो । जुन मुद्दा अख्तियारमा कायमै छ ।

हुवावे कम्पनीको कमजोर प्रविधिका कारण टेलिकमले फोर जी सेवा सुरु गरे पनि एनसेलको झैं एग्रेसिभ मार्केटिङ गर्न सकिरहेको छैन । जबकी एनसेलले ढिलो फोर जी सेवा सुरु गरेपनि देशका विभिन्न स्थानमा सेवा विस्तार गरिसकेको छ । टेलिकममा कामिनीको कमजोर कार्यशैली र टेण्डरमा करोडौं घुस खाएका कारण तत्कालिन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उनलाई हटाएर अनिलकुमार झालाई प्रवन्ध निर्देशक बनाउने तयारी गरेका थिए । तर, स्रोतका अनुसार रातारात हुवावे र जेटीइले मन्त्री बस्नेत र अख्तियारका तत्कालिन प्रमुख दिप बस्नेतलाई करोडौं कमिसन बुझाएपछि कामिनीको पद थमौती भएको थियो ।

अहिले पनि बढीमा पाँंच अर्बमा सम्पन्न हुने फोर जी नेटवर्क विस्तारका लागि ३२ अर्ब खर्च गरेर टेलिकमलाई धराशायी बनाउन कामिनी तल्लिन छन् । उनले फोर जी विस्तारलाई आफ्नो पदसँग पनि जोडेकी छन् । आउने नयाँ सञ्चार मन्त्रीले यसलाई कसरी लिने हुन् ? त्यो भने प्रतिक्षाको विषय बनेको छ । तर, कामिनीले टेलिकमका टेण्डरमा गरेको बदमासीको फेहरिस्तका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारका कार्यवहाक प्रमुख आयुक्त नविन घिमिरे समेत कामिनीलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएपछि उनको पद धरापमा परेको छ ।

यसअघि कामिनलाई जोगाउनका लागि हुवावेले अख्तियारका तत्कालिन प्रमुख दीप बस्नेत र कांग्रेस नेतृ आरजु देउवाले सेटिङ मिलाएका थिए । अहिले विवाद बढेपछि कामिनीले नयाँ मन्त्री आउनासाथ टेण्डरको नाटक गरी पुनः देशभरको फोर जी सेवा विस्तारको जिम्मा हुवावेलाई नै ठेक्का दिने योजना बनाएकी छन् । जसको टेण्डर खोली मूल्यांकनको अन्तिम चरणमा छ । दुई समूहमा गठित मूल्यांकन समितिको एउटा समूहमा प्रदीप ठाकुर, प्रेम गुरुङ र अमूल प्रधानको समूहले काम गरेको छ ।

त्यसैगरी अर्को समूहमा नरेशकाजी शाक्य र राजेन्द्र श्रेष्ठको समूहले काम गरेको छ । दुवै समूहको प्रमुखमा क्रमशः सिद्धप्रताप भारती र प्रदीप उपाध्याय रहेका छन् । टेण्डर मूल्यांकन कमिटीका दुवै समूहमा रहेकामध्ये प्रदीप ठाकुर बाहेक अरु सबै ५ अर्बमा हुने फोरजीको काम ३२ अर्बमा दिएर राष्ट्रविरुद्ध आर्थिक अपराध गर्ने पक्षमा नरहेको बताइन्छ ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2018 March 8, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया