शीतल निवासको गुटले एमालेभित्र संकट

काठमाडौं । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रपति विदादेवी भण्डारीले शीतल निवासबाट गुटको राजनीति गरेकोप्रति आफूहरू चिन्तित रहेको बताएका छन् ।

उनका अनुसार भण्डारीले आगामी दिनमा एमालेलाई असर पर्ने गरेर कुनै पनि गुटका राजनीति नगर्ने गरेर सचेत गराउनुपर्ने बताए । नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘विद्यादेवी भण्डारीज्यूका विषयमा स्थायी समितिमा कुरा उठेको छ । उहाँले एमालेको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने विषयमा हामी सहमत भएका छौँ ।’

भण्डारीले गुट चलाएकै कारण राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बनाउन ठूलो छलफल गर्नुपरेको उनले बताए । ‘भण्डारीप्रति अधिकांश स्थायी समिति सदस्यहरू सकारात्मक हुँदा हुँदै उहाँले गुटको राजनीति गरेका कारण यस पटक केही फ्ठ्यारो भएको छ’, उनले भने ।

उपाध्यक्ष ज्ञवालीले उम्मेदवार चयनका विषयमा स्थायी समिति विभाजित भएको बताए । विभाजित भए पनि सकारात्मक सन्देश दिन अन्तिममा सर्वसम्मत निर्णय गरिएको उनले उल्लेख गरे ।

उता, एमालेका वरिष्ठ नेता झलनाथ खनालले अबका दिनमा आफूले सक्रिय राजनीति गर्ने बताएका छन् । उनले भने, ‘पार्टीभित्रको अन्तरघात र गुटगत स्वार्थका कारण म राष्ट्रपतिको उम्मेदवार बन्न सकेन । म सक्रिय राजनीति गर्छु । एकीकृत पार्टीको नेतृत्वको लागि आजैदेखि तयारी गर्छु ।’

राष्ट्रपति उम्मेदवार हुनबाट रोकेकोप्रति चिन्तित देखिएका खनालले भने, ‘विद्यादेवी भण्डारीजीप्रति मेरो कुनै रिसराग छैन । यो राजनीति हो । सक्रिय राजनीति छाड्न राष्ट्रपति बन्न चाहेको थिएँ । अब चुप लागेर बस्दिन सक्रिय राजनीति गर्छु । सबैलाई देखाइदिन्छु ।’

Published : Thursday, 2018 March 8, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया