राष्ट्रपतिमा कांग्रेसबाट राई उम्मेदवार, पौडेल समूह अनुपस्थित

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा पूर्व सांसद् कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राई दोस्रो संविधानसभामा समानुपातिक सांसद् थिइन् ।

राईले बिहान ११ बजे मनोनयन गर्ने पार्टी कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिए । राष्ट्रपतिका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको छ । फागुन २९ गते निर्वचन हुनेछ ।

कांग्रेस बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला तथा संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदार लगायतको उपस्थिति थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, गगन थापा लगायतको भने बैठकमा उपस्थिति थिएन ।

वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारी र राई दुवै भोजपुरका हुन् । भण्डारी स्वयंम उपस्‍थित भएर मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

Published : Wednesday, 2018 March 7, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया