कांग्रेसले दलको नेता छान्ने, देउवा र सिंहबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

सोमबार हुने दलको नेता निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ ।

निर्वाचन समितिका अनुसार अपराह्न ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।

दलको नेतामा सभापति शेरबहादुर देउवालाई सर्वसम्मत हुन नदिन वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सक्रिय भएको छ ।

पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति देउवालाई दुईतिहाई मतले जिताउने प्रयास थालेको छ ।

आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षको छ ।

पौडेल पक्षको शुक्रबार बसेको बैठकले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको छ । नेता सिंहले निर्वाचनमा पार्टीको खस्केको साखलाई पूर्ववत् अवस्थामा पु¥याउन र शुद्धीकरण गर्न आफू उम्मेदवार बन्ने बताएका छन् ।

प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् । तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् ।

पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् । नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् ।

उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ ।

तीमध्ये नेता सिटौलाको पक्षमा रहेका काठमाडौं–६ बाट जितेका भीमसेनदास प्रधानले बिहीबार नै सभापति देउवालाई भेटेर दलको नेतामा मत दिन आश्वासन दिएका छन् ।

सिटौला पक्षकै बारा–१ बाट जितेका उमाकान्त चौधरी र उद्योपति विनोद चौधरीले पनि देउवालाई नै मत दिने संस्थापन पक्षको दाबी छ ।

Published : Sunday, 2018 March 4, 10:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया