म ज्योतिष हैन : उपेन्द्र यादव

उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय एकता कायम गर्न सक्छ ?

म ज्योतिष त हैन । तर चाह्यो भने सक्छ, चाहेन भने सक्दैन ।

तपाईले के पाउनुभयो ? केपी ओलीमा त्यो इच्छाशक्ति छ ?

उहाँले चाहनुभयो भने सक्नुहुन्छ । चाहना छ कि छैन भन्ने कुरा उहाँले भन्ने कुरा हो ।

संविधान संशोधन गर्न ओली सकारात्मक हुनुभएको हो ?

सकारात्मक भएको संकेत आएको छ । तर कुरा टुङ्गिएको छैन ।

तपाईसँग दुई बुँदे सहमति भइसकेको हो ?

त्यस्तो केही सहमति भएको छैन ।

तपाईको दल सरकारमा जाने अवस्था सृजना त भएको हो नि ?

यो कुराको पनि टुङ्गो लागेको छैन । हामी वार्तामा बस्ने मान्छेलाई नै थाहा छैन । तपाईहरु बाहिर बस्ने मान्छेलाई थाहा हुँदोरहेछ । यो अचम्मको कुरा हो ।

तपाईहरुबिचको बैठकमा भएको कुरा के हो त ? प्रष्ट पार्नुस् न ।

अहिलेसम्म छलफल जारी छ । टुङ्गोमा पुगेको छैन । जबसम्म निष्कर्षमा पुग्न सकिदैन, तबसम्म केही भन्न सकिदैन ।

धेरैपटक वार्ता भइसक्यो । किन निष्कर्षमा पुग्न सक्नुभएन ?

कुराहरु मिठा हुन्छन् । तर परिणाम सार्थक हुनुपर्छ ।

वाम गठबन्धनबाट सार्थक परिणामको अपेक्षा गर्न सक्नुहुन्छ ?

अब हामीले उहाँहरुलाई खोज्दै गएको होइन । उहाँहरुले आमन्त्रण गरेर गएको हो । त्यसैले सार्थक परिणाम दिने दायित्व पनि उहाँहरुकै हो । हामी त हाम्रो मुद्दा सुनुवाई भए मात्रै सरकारमा सहभागि हुने हो । राष्ट्रिय समस्या समाधान हुने हो भने हामी सहमती गछौँ ।

प्रधानमन्त्री ओलीले त दुई तिहाई पुर्याउनका लागि तपाईलाई सम्मानका साथ आग्रह गर्नुभएको छ नि ?

मलाई व्यक्तिगत सम्मानभन्दा पनि मुलुकको समस्या र सम्मान ठूलो छ । समस्या समाधान गरेर अगाडि बढ्न तयार हुनुपर्छ । उहाँहरुले जे प्रयास गर्नुभएको छ, त्यो राम्रो हो । तर परिणाम निस्किएको छैन । हामीले उठाएका सवालहरुको जवाफसहित हामीलाई सरकारमा लैजाने चाहना राख्नुपर्छ ।

तपाईहरुले उठाएको सवाल के हो ?

संविधान संशोधन र राष्ट्रिय मुद्दाहरुको समाधान हो । कुन कुन विषयमा संशोधन गर्ने सूचि हामी दिन्छौँ ।

अहिले राजपा र फोरमबिचको सम्बन्ध चिसिएको हो ?

राजपासँगको हाम्रो सम्बन्ध प्रदेश नम्बर दुईमा सिट तालमेलका लागि मात्रै भएको थियो । अहिले मधेशी मोर्चा पनि छैन, गठबन्धन पनि छैन । त्यसकारण राजपासँगको अरु कुनै सम्बन्ध नै छैन ।

राजपाका नेताहरुले त उपेन्द्र यादवले धोका दिनुभयो भन्न थालेका छन् नि ?

अब कोही बौलाउँछन् भने त्यसको उपचार गर्न म सक्छु र ? मैले राजपासँग कुनै लगनगाँठो बाँधेको छैन । जो सँगै घुमोस्, यसको जरुरी पनि छैन । उहाँहरुको सिद्धान्त मलाई थाहा छैन । हाम्रो सिद्धान्त र पार्टी बेग्लै हो ।

तपाईहरु चुनावमा गठबन्धन त मिलेर गर्नुभएको हो नि ?

अहिले कुनै गठबन्धन छैन । चुनाव सकिएपछि तालमेल पनि सकियो । मधेशी मोर्चालाई राजपाले खाइहाल्यो । अब नयाँ परिस्थितीमा नयाँ ढंगले जानुपर्ने हुन्छ । कुनै बेला आवश्यकता पर्यो भने फेरी तालमेल गरौँला ।

उपेन्द्र यादवले राजपालाई संगै लिएर जानुपर्ने, एक्लै सरकारमा जान लाग्यो भन्नेहरुलाई के भन्न चाहनुहुन्छ ?

पहिलो कुरा हामी सरकारमा गएकै छैनौँ । अर्को कुरा गइहाले पनि उहाँहरुलाई लैजानुपर्ने कुनै कारण छैन । प्रदेश नम्बर दुईको चुनावका लागि गरिएको तालमेल सकिइसक्यो ।

संविधान संशोधनको मुद्दा उपेन्द्र यादवको मात्रै होइन, हाम्रो पनि हो भन्ने तर्क राजपाका नेताहरुले गरेका छन् नि ?

आफ्नो मुद्दा र माग सम्बोधनका लागि आफैँ पहल गर्ने हो । हाम्रो मुद्दाका बारेमा हामी छलफलमा छौँ । उहाँहरु को हो र थाहा दिनलाई ? हामी चुनावमा भाग लिदा उहाँहरुले उदण्डता देखाएको होइन । अहिले किन पछिपछि लाग्नुपर्यो ? उदण्डता र उछिरिङखलता मात्रै राजनीति होइन । उहाँहरुमा अनुसाशन छैन, अराजकता छ । चरम जातिवाद छ । व्यक्तिगत महत्वाकांक्षा बाहेक अरु केही छैन ।

जे भए पनि सरकारमा एकसाथ सहभागि हुँदा भैहाल्थ्यो नि ?

उनीहरु पनि पटकपटक सरकारमा गएको होइन ? माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीहरु पनि त सरकारमा गएका थिए नि । लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवाको सरकारमा पनि गएका थिए । पहिला आफ्नो अनुहार हेर्नुपर्यो नि ।

भनेपछि अब राजपासँगको सम्बधमा दरार आयो हैन ?

त्यस्तो केही होइन । उहाँहरुसँगको सम्बन्ध दुई नम्बर प्रदेशस्तरीय मात्रै थियो । चुनाव सकिएपछि त्यो सम्बन्ध पनि सकियो ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर सरकार बनाउनुभएको छ । सम्बन्ध टुट्यो भने ?

दुई नम्बर प्रदेशमा दुई दलबिचको सरकार छ । त्यो सम्बन्ध हामी तोड्न चाँहदैनौ । उहाँहरुले उदण्डता प्रस्तुत गर्नुभयो भने जे पनि हुन सक्छ । हामी त सरकारलाई निरन्तरता दिन चाहन्छौँ ।

संविधान संशोधनको मुद्दा त दुवै दलको हो नि ?

उहाँहरुको नीति र हाम्रो नीति मिल्दैन । हामी शासकीय स्वरुप परिवर्तन गर्ने पक्षमा छौँ । उहाँहरु हुनुहुन्न । संविधान संशोधनको विषयमा पनि धेरै कुरा मिल्दैन । तर पनि उहाँहरुलाई लिएर जाने कोसिस रहन्छ । लिएर जाउँला नि पछिपछि ।

तपाई प्रत्यक्ष निर्वाचिन राष्ट्रपतिको पक्षमा हो ?

निश्चित रुपमा । म संसदीय व्यवस्थाको पक्षमा होइन । त्यसैले राजपासँग अनुहार मात्रै मिल्छ, विचार र सिद्धान्त मिल्दैन ।

Published : Sunday, 2018 March 4, 10:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया