प्रचण्डले ‘जनयुद्ध’को धज्जी उडाएपछि तालीको वर्षा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादीको दुईवटा संसदीय दल लामो समय नरहने बताएका छन् ।

शनिबार वानेश्वरस्थित संसद भवनमा एमाले र माओवादी केन्द्रका सांसदलाई संयुक्त प्रशिक्षण दिँदै प्रचण्डले दुई पार्टीबीच चाँडै नै एकता हुने भएकाले छिट्टै नै एउटै पार्टी र एउटै संसदीय दल रहने बताएका हुन् ।

दाहालले लामो समय राजामहाराजाको शासन रहेकाले जनतालाई रैती ठानिएको भन्दै राजामहाराजाको संस्कार पार्टीभित्र पनि देखिएको बताए ।

‘लामो समय नेपालमा राजामहाराजाको राज रह्यो, उनीहरुले जनतालाई रैती ठाने, पार्टीभित्र पनि माथिल्लो तहले तल्लो तहलाई रैती ठान्ने परम्परा देखियो’, उनले भने, ‘कर्मचारीतन्त्रले जनतालाई रैति ठान्नेपनि देखियो, अब राजामहाराजाको युग अन्त्य भइसकेको छ ।’

जनता सम्पन्न नभइ समाजवाद नआउने भन्दै उनले अन्य दल र कम्युनिस्टमा धेरै फरक रहेको बताए । ‘अरु पार्टी र हाम्रोमा धेरै फरक छ, हामी विचार र सिद्धान्तबाट निर्देशित छौं’, उनले भने ।

एमालेसँग पार्टी एकताको अन्तिम चरणमा रहेका प्रचण्डले एमाले जनताको बहुदलीय जनवाद नभएको भए जनयुद्धकालमा माओवादीको रक्षा नहुने बताए ।

‘मदन भण्डारीले जबजको आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन, माओवादीले जनयुद्ध नगरेको भए हामी यो ठाउँमा आइपुग्ने थिएनौं’, प्रचण्डले यसो भन्दा हल तालीले गुन्जयमान भएको थियो ।

पार्टी एकताको औचित्य पुष्टि गर्न प्रचण्डले ‘एमाले र माओवादी इतिहासमा सधैं एक अर्काका पुरक भएर आएको समेत दावी गरे ।

वाम गठबन्धनका सांसदलाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा प्रशिक्षित गरेका थिए । प्रचण्डले ओली र एमालेका नेताहरूको समर्थन बटुल्न जनयुद्धको अपमान र जबजको प्रसंशा गरेको एक माओवादी नेताले आरोप लगाए । प्रचण्डले दिएको अभिव्यक्तिबाट धेरै माओवादी नेताहरूको चित्त दुखेको छ ।

Published : Saturday, 2018 March 3, 4:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया