देउवा–पौडेलबीच दूरी बढ्यो, लिखित आरोप बैठकमा प्रवेश

काठमाडौं । निर्वाचनमा कांग्रेसको पराजयसँगै देखिएको आन्तरिक विवादले उग्ररुप लिँदै गएको छ ।

सार्वजनिक कार्यक्रमहरूमा एकले अर्कालाई आरोप प्रत्याराप लगाइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि अर्को गम्भीर प्रश्न उठाएका छन् ।

ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले लिखितरुपमै आफ्नो धारणा राख्दै देउवामाथि पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्‍याएको आरोप लगाएका छन् ।

पत्रको सुरुमा नै १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक होइन, सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘तर, तपाई तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’

पार्टीको सबै निकाय, भातृ संगठन अस्तव्यस्त रहेको भन्दै उनले पार्टी सभापति देउवालाई प्रश्न गरेका छन्, ‘तपाईले के गर्नुभयो ? एउटा काम तपाईले गर्नुभयो(आफ्नो गुटको भरणपोषण’, पौडेलले भने, ‘हो तपाईको आफ्नो गुट मजवुद बन्यो होला तर, विचरा कांग्रेस झनझन दुर्वल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुठित !’

पौडेलले पार्टी सभापतिमाथि कम्युनिष्टलाई सत्ता सुम्पिएको र कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत जसभन्दा अपजसको भारी बनेको बताएका छन् ।

उनको प्रश्न छ, ‘समयमै किन नगरेको ?’ देउवाको नेतृत्वमा न पार्टी भल्यो न सरकार भन्दै पौडेलले विधान अनुसार प्रदेश अधिवेशन किन नगरेको, धनुषा जिल्ला कमिटीविहीन किन बनाइयो भन्ने प्रश्न पनि पार्टी सभापतिमाथि उठाएका छन् ।

पौडेलले आम चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रेस अत्यन्तै कमजोर हुनु भएको बताएका छन् । कम्युनिष्ट गठबन्धन सहायक कारण मात्र भएको भन्दै उनले भनेका छन्, ‘संघीयताको प्रारम्भीक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, सात मध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । यसले पुष्टि गर्छ, कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ ।’

कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाव दिने बल कांग्रेससँग नरहेको भन्दै उनले भनेका छन्, ‘त्यस्तो अवस्थामा प्रतिपष निरीह भएर बस्नुपर्ने हुनसम्क्छ हुन्छ ।’

Published : Sunday, 2018 February 25, 9:07 pm

1 प्रतिकृया प्राप्त “देउवा–पौडेलबीच दूरी बढ्यो, लिखित आरोप बैठकमा प्रवेश”

  • Nepali congres ma bolnajanne dherai netaharu bhayekole sabai thauma harbehornu pareko ho. Arko kura nepali congresma jasko sakti xa wusko bhakti ko sarap lageko ho aru kehipani hoina.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया