शपथको तयारी भइरहेका बेला सांसद अग्रहरीको पद धरापमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधि सभाको समानुपातिकतर्फ क्लष्टर मिचेर अमृता अग्रहरीलाई सांसद बनाएको खुलासा भएको छ । अग्रहरी मधेस मूलकी महिला हुन् ।

तर, उनलाई राजपाका अध्यक्ष महन्थ ठाकुरले जनजाति क्लष्टरमा राखेर सांसद बनाएको खुलेको छ । अग्रहरी थर आदिवासी जनजाति समूहमा पर्दैन । अग्रहरी थर मधेसी समुदायमा पर्छ ।

राजपाका अध्यक्ष ठकुरले अग्रहरीलाई क्लष्टर मिचेर सांसद बनाउँदा समेत निर्वाचन आयोग मुकदर्शक बनेर बसेको आरोप छ । राजपाका नेता राजेन्द्र महतोको दवावमा ठाकुरले अग्रहरीलाई सांसद बनाएको स्रोतको आरोप छ ।

आदिवासी जनजाति महिलाको क्लष्टर मिचेर सांसद बनेकी अग्रहरीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले अन्तिम निर्णय दिएको छैन । तर, राजपाका केही नेताहरुले अध्यक्ष ठाकुर र महतोको अवैधानिक कदमविरुद्ध सर्वोच्चको ढोका ढक ढक्याउने चेतावनी दिएका छन् ।

अग्रहरीको सांसद पद खोसियो भने शोभा राजवंशी समानुपातिकबाट सांसद बन्ने छिन् । राजवंशी आदिवासी जनजाति महिला हुन् । उनलाई रोक्न र अग्रहरीलाई सांसद बनाउन राजपाभित्रै यति ठूलो अवैधानिक निर्णय हुँदा समेत निर्वाचन आयोगले ध्यान नदिएकोमा पीडित नेता तथा कार्यकर्ताहरुले आक्रोश पोखेका छन् ।

उता, राजपा नेपाललाई नेता महतोले कब्जा गर्ने नीति अबलम्बन गरेको आरोप छ । अध्यक्ष ठाकुरलाई आफ्नो कब्जामा राखेका महतोले बिगत एकमहिनादेखि ठाकुरलाई पार्टी कार्यालय ल्याउने र निवास लगेर छाड्ने गरेका छन् । ठाकुरको मागअनुसार सम्धीलाई प्रदेश नं. ५ को प्रमुख र सम्धिनालाई सांसद बनाउन महतोले सहयोग गरेपछि ठाकुर र महतोको साँठगाँठ बढेको हो ।

स्रोतका अनुसार महतोले ठाकुरलाई केपी ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन दवाव दिइरहेका छन् । सरकारमा सहभागी हुनका लागि महतोले ओलीसँग वार्तासमेत गरिरहेको स्रोतको भनाई छ ।

ओली पनि राजपालाई सरकारमा सहभागी गराउन ग्रिन सिग्नल दिएका छन् । राजपाभित्रको आन्तरिक विवाद मिलाउन नसक्दा ठाकुर र महतो केही कठिनाइमा परेका हुन् । महतोलाई महेन्द्र राय यादवले पनि साथ दिएको बताइन्छ ।

भारतसँगको सम्बन्ध बिग्रिएपछि महतोले आफ्नै बलबुतामा राजनीति गर्ने प्रयास गरेका छन् । महतोले भारतलाई देखाउन पनि ठाकुरलाई प्रभावमा पारेर ओली सरकारमा सहभागी भइ छाड्ने योजनामा रहेको स्रोतको भनाई छ ।

महतो पछिल्लो समय राष्ट्रवादी छवि बनाई रहेका छन् । महतोका अभिव्यक्ति र गतिविधिले भारतलाई टाउको दुःखाई भएको छ । महतोका पछिल्ला क्रियाकलापले उनीमाथि समाजमा राम्रो छवि बन्दै गएको बताइन्छ । (यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2018 February 22, 8:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया