ओलीद्वारा देउवाको सिफारिस रद्द, राष्ट्रिय सभामा नयाँ नाम सिफारिस

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिएर केपी ओली नेतृत्वको वर्तमान सरकारले नयाँ नाम सिफारिस गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभा सदस्यमा पूर्व गभर्नर युवराज खतिवडा, पूर्व सांसद रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको हो । खतिवडा र पौडेल एमाले निकट मानिन्छन् भने बिडारी माओवादी केन्द्रका नेता हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सिफारिस फिर्ता लिँदै सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनालाई सिफारिस गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिइन् ।

संवैधानिक प्रावधान अनुसार सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन गर्नुपर्छ । देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन् । तीन जनाको मनोनित हुने स्थान रिक्त छ ।

Published : Tuesday, 2018 February 20, 10:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया