एमाले–माओवादीबीच यसरी सम्भव भयो सात बुँदे सहमति

काठमाडौं । सात बुँदे सहमतिसँगै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ ।

आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय भएको छ । सोमबार राति ११ बजे बालुवाटारमा सम्पन्न बैठकले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारी भएको जारी सात बुँदेमा उल्लेख छ ।

सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । यही फागुन २ गतेको समितिको बैठकमा मिल्न बाँकी विषयलाई दुई दलले हस्ताक्षरसहित सहमति गरेका हुन् ।

सहमतिमा पार्टीको नेतृत्वमा दुई सहअध्यक्ष रहनेछन् । सरकारको नेतृत्व आलोपालो गर्ने भनी चर्चामा आएका विषयबारे उल्लेख गरिएको छैन । कहिलेसम्म पार्टी एकता गर्ने भन्ने पनि किटान पनि गरिएको छैन ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उक्त एकता संयोजन समितिले एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको स्पष्ट पारेको छ ।

सहमतिमा एमालेको ‘जबज’ र केन्द्रको ‘माओवाद र एक्काइसौँ शताब्दीको जनवाद’ सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने सहमतिमा जनाइएको छ ।

एमाले महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सात बुँदे सहमति सार्वजनिक गर्दै पार्टी र सरकारको नेतृत्वका विषयमा थप स्पष्ट चाहेनन् । उनीहरूले लिखितरुपमा आएका विषयहरूलाई आधिकारिक ठान्न आग्रह गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि गत असोज १७ गते दुई पार्टीबीच एकता गर्ने घोषणा गरिएको थियो । निर्वाचनमा बहुमत हासिल गरेको यस गठबन्धनको समर्थनमा एमालेका अध्यक्ष ओली यही फागुन ३ गते प्रधानमन्त्रीमा नियक्त भएका थिए ।

Published : Tuesday, 2018 February 20, 7:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया