पौडेल समूहले देउवालाई सर्वसम्मत हुन नदिने

काठमाडौं । निर्वाचनमा पराय भोग्न पुगेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको द्वन्द्व सुरु भएको छ ।

पार्टीभित्रको अन्तरिक द्वन्द्वले संसदीय दलको नेतामा प्रभाव पार्ने भएको हो । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि पौडेल समूह देउवासँग निर्वाचन भिड्ने तयारी गरेको छ । महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन् ।

संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन् । स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा छन् । सिंह भने देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिन तयार छन् ।

समानुपातिकतर्फका सांसदको टुंगो लागेपछि कांग्रेसमा दलको नेता छान्ने गृहकार्य अघि बढेको हो  । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसका ६३ सांसद छन्  ।

जसमध्ये सभापति शेरबहादुर देउवा पक्ष संसदीय दलमा सहज बहुमतमा देखिएको छ । दलको नेता बन्न ३२ मत (बहुमत) आवश्यक पर्छ । तर, देउवा पक्षमा प्रत्यक्षका ११ र समानुपातिकका २९ गरी ४० सांसद छन् ।

पौडेल पक्षबाट प्रत्यक्षमा नौ र समानुपातिकमा १० गरी १९ सांसद छन् । प्रत्यक्षमा तीन सिट जितेको सिटौला पक्षका समानुपातिक सांसद छैनन् । सहमति नभई भोटिङ हुने अवस्थामा पौडेल पक्ष सहजै पराजित हुने देखिन्छ ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमध्ये संस्थापन पक्षका ११ सांसद मात्रै छन् । समानुपातिकतर्फ देउवाले आफूनिकट २९ सांसद बनाएर दलमा सहज बहुमत पुगाएका छन् ।

Published : Monday, 2018 February 19, 8:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया