यहाँबाट चोरी भएको थियो ‘शत्रु गते’को ‘रुपै मोहनी’ (भिडियो प्रमाण)

काठमाडौं, ६ फागुन । ‘मह’ जोडीले निर्माण गरेको फिल्म ‘शत्रु गते’ विवादमा फसेको छ । फिल्मको ‘रुपै मोहनी…’ गीत चोरी गरेको खुलासा भएको हो ।

‘रुपै मोहनी…’ बोलको गीतलाई वरिष्ठ गायक कुमार बस्नेतको ‘रउसी खान जाउँ…’ बोलको गीतसँग हुबहु मिलेको छ । गायक बस्नेतले भने, ‘मेरो गीत चोरी भएको विषयमा हरिवंश आचार्यसँग सोधेका थिएँ । हरिवंशले होइन दाई भजनको रुपमा मात्रै हो भनेर हल्का जवाफ दिए ।’

हरिवंशबाट के जवाफ पाउनु भयो भन्ने प्रश्नको जिज्ञासामा गायक बस्नेतले भने, ‘प्रतिलिपि अधिकारको विषयमा हामीसँग लडेको हो । सँगै ५–६ वर्ष काम गरेको हो । हरिवंशले बुझ्ने कुरा हो यो । यहाँ यस्तै छ जसले जे गरे पनि हुन्छ ।’

लोकराज अधिकारीले शब्द लेखेको ‘रुपै मोहनी…’लाई संगीतकार टंक बुढाथोकीले संगीत दिएका छन् । हुन त संगीतकार बुढाथोकीलाई संगीत चोरी गर्ने संगीतकारका रुपमा नेपाली फिल्ममा चिनिने गर्छन् । गीतकार अधिकारीलाई पनि यसअघि ‘तिमले पराई ठानेपछि पराई हुन के भयो र… ?’ गीतका शब्द चोरी गरेको आरोप लागेको थियो । संयोग मान्नुपर्छ ‘रुपै मोहनी…’ बोलका संगीतकार र गीतकारलाई बौद्धिक सम्पत्ति चोरी गर्नेको गरेको आरोप छ ।

‘रुपै मोहनी…’ बोलको यो गीत ‘छक्का पञ्जा ३’ का लागि तयार पारिएको थियो । ‘छक्का पञ्जा २’को टिमलाई ‘ए दाजु नसमाउ नाडीमा…’ बोलको गीत चोरी गरेको आरोप लागेको थियो ।

दीपकराज गिरी र दीपाश्री निरौलाले फेरि पनि गीत चोरी भएको आरोप नलागोस् भनेर ‘शत्रु गते’मा राख्नका लागि दिएको हुन सक्ने बताइएको छ । दीपक र दीपाको ‘छक्का पञ्चा’ फिल्मको प्रतिलिपि चोरी भएको भनेर प्रहरीमा उजुरी दिँदा डराएर एकजना युवकले आत्महत्या गरेका थिए ।

‘शत्रु गते’ फिल्मका लागि दीपक र दीपाले ‘रुपै मोहनी…’ गीत आफूलाई दिएको निर्माता किरण केसीले बताएका छन् ।

गायक बस्नेतले वर्षौं पहिला सर्जक होनी मायासँग ‘रउसी खान जाउँ…’ गीतको लय लिएको बताए । सो गीतको शब्द लेख्न वरिष्ठ गायिका हरिदेवी कोइरालालाई लेख्न लगाएको बस्नेतले बताए । शब्द लेख्दा कोइरालालाई मोहन गन्धर्वले सहयोग गरेका थिए ।

वरिष्ठ गायक बस्नेतले ‘रउसी खान जाउँ…’ बोलको गीत म्युजिक नेपालमा रेकर्ड गराएको र अहिले पनि त्यो गीत सुरक्षित रहेको उल्लेख गरे ।

Published : Sunday, 2018 February 18, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया