ओलीले ‘यू टर्न’ लिएपछि गुटभित्रै बबाल, बालकोट घेर्न पुगे नेताहरू

काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेललाई बिहीबार मन्त्री नबनाएपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका गुटका नेताहरू भेट्न नै नपाइ फिर्ता हुनु परेको छ ।

बिहीबारको क्याबिनेट विस्तारमा ओलीले महासचिव पोखरेललाई मन्त्री बनाउने भनेर तयारी गरेका थिए । अचानक माधवकुमार नेपाल समूहलाई मिलाउनुपर्ने भएपछि पोखरेलको नाम काटेर ओलीले लालबाबु पण्डितलाई मन्त्रीमा शपथ गराएका थिए ।

मन्त्रीको शपथ लिन नपाएपछि आगो बनेका महासचिव पोखरेलले आफ्ना गुटका नेताहरूलाई ओली निवास बालकोट घेराउ गर्न पठाएको एक नेताले बताए ।

ओलीसँग भेटेर पोखरेल गुटका नेताहरूले किन मन्त्री नबनाएको भनेर कुरा राख्ने तयारी गरेका थिए । तर, ओलीलाई भेट्न नपाएपछि यत्तिकै फिर्ता भएको जनाइएको छ ।

महासचिव पोखरेल मन्त्री बन्ने सूचना प्रधानमन्त्री ओलीका अति विश्वासिला पोलिटब्यूरो सदस्य बिष्णु रिमालले आफू निकटका पत्रकारहरू सूचना चुहाएका थिए । राष्टपति कार्यालय शीतल निवासमा ओलीले निर्णय परिवर्तन गरेका थिए ।

महासचिव पोखरेललाई मन्त्री बनाउने पक्कापक्की हुँदा हुँदै पनि सपथ नगराएकोमा गुटका नेताहरू रिसाएका छन् ।

पार्टीभित्र ओली गुट चलाउँदै आएका नेताहरू असन्तुष्टि लिएर बालकोटमा पुगे तर, प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । महासचिवलाई किन मन्त्री बनाइएन ? भन्दै उनीहरू बालकोट पुगेका थिए । आफ्नो गुनासो राख्ने समय नै ओलीले नदिएपछि ती नेताहरू सानो अनुहार बनाएर फर्किएको स्रोतले जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो दायरा फराकिलो बनाएका छन् । केही सीमित ब्यक्तिको सल्लाहमा भन्दा पार्टीका प्रभावशाली नेताहरूको सल्लाहमा उनी चल्न थालेका छन् ।

पार्टीका प्रभावशाली नेताहरू झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमको सल्लाहमा चल्न थालेपछि गुट चलाउँदै आएका नेताहरूमा छटपटी सुरु भएको छ ।

प्रधानमन्त्री ओली महासचिव पोखरेललाई मन्त्री बनाउने पक्षमा थिएनन् । महासचिव पोखरेल यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । यस पटक ओली कसैलाई पनि उपप्रधानमन्त्री बनाउने पक्षमा छैनन् । पोखरेल रोकिनुको एउटा कारण यो भएको एमालेबृत्तमा चर्चा चल्न थालेको छ ।

सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तत्काल प्रभावशाली मन्त्रालयमा मन्त्री नियुक्त नगर्न प्रधानमन्त्रीलाई शीतलनिवासमै सल्लाह दिएका थिए । दाहालको सल्लाहमा पोखरेल रोकिएको स्रोतले बताएको छ ।

Published : Saturday, 2018 February 17, 10:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया