ओलीले यसरी सुरु गरे कांग्रेससँग सिधै ‘जंग’

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सिधै जोरी खोज्न थालेको संकेत दिएका छन् ।

ओलीले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका निर्णय र सिफारिसहरू उल्टयाउने संकेत दिएका हुन् । त्यसका लागि गृहकार्य गर्न ओलीले आफ्नो सचिवालयलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

कांग्रेस सभापति समेत रहेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरूलाई उल्ट्याउने तयारी भएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताए । उनले भने, ‘अघिल्लो सरकारले गरेको संविधान विपरितका र प्रक्रिया नपुगेका निर्णयहरू खारेज हुन्छन् । प्रक्रिया सुरु भएको छ ।’

प्रधानमन्त्री ओलीले देउवा सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता गर्ने तयारी गरेका छन् । ओली सरकारले मन्त्रिपरिषदको आगामी बैठकबाट सो निर्णय फिर्ता लिई सहमतिका आधारमा नयाँ सिफारिश गर्ने तयारी गरेको छ ।

एमालेको दवावमा देउवा सरकारको सो सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना सदस्य मनोनीत गर्ने संविधानिक व्यवस्था छ ।

देउवाले कांग्रेसका नेताद्वय कृष्णप्रसाद पौडेल र गोपाल बस्नेत तथा समाजसेवी चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न सिफारिस गरेका थिए ।

सबैभन्दा ठूलो दलको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सहमति र सहकार्यको राजनीतिलाई लत्याउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चिढ्याउने गरेर उठाउन लागेको कदमले मुलुकको राजनीतिलाई असर पर्ने विश्लेषकहरूको भनाइ छ ।

ओलीले कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णयहरू उल्ट्याउने कार्य गरे भने सरकार र प्रमुख विपक्षी दलको सम्बन्ध झन् असहज बन्दै जानेछ ।

Published : Friday, 2018 February 16, 5:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया