एनसेलमाथि किन भयो अचानक आक्रमण ?

काठमाडौं । राज्यलाई ६५ अर्ब लाभकर नतिर्न अनेक षड्यन्त्र रच्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेल अब विप्लव माओवादीको तारो बनेको छ ।

भ्रष्टाचार अभियोगमा फरार रहेका चुणामणी शर्माको घरमा आक्रमण गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एनसेलका टावरलाई लक्षित गरी आक्रमण गरेका हुन् ।

फागुन १ गते अर्थात जनयुद्ध दिवसकै दिन विप्लवका कार्यकर्ताले एनसेलमाथि आक्रमण गरेका हुन् । तर, उनीहरुको आक्रमण कर तिराउन खबरदारी गर्न हो वा बार्गेनिङका लागि हो ? अझै प्रष्ट हुन सकेको छैन ।

एनसेलले जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारबाही सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीको दाबी छ ।

राज्यलाई तिर्न पर्ने ६५ अर्ब राजस्व बुझाउन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएको भन्दै एनसेलका देशैभरका टावरमाथि एकैसाँथ तोडफोड तथा आगजनी गरेको नेकपा माओवादीले जनाएको छ ।

नेकपाले काठमाडौंका दक्षिणकाली, जोरपाटी र जोहर्सिंहपौवा, भक्तपुर, सुर्खेत, बाँके र कैलालीमा दुई दुइ वटा ओटा टावरमाथि आक्रमण गरेर राज्यलाई नै चुनौती दिएको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीले इटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ ।

त्यस्तै, धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ भने सोलुखुम्बु, धनुषा, चितवन, नुवाकोट, धादिङ, ताप्लेजुङ्गलगायत देशैभरिका एनसेल कम्पनीका टावरमाथि तोडफोड तथा आगजनी भएको छ ।

आक्रमणबारे एनसेलले अझै पनि बिस्तृत क्षतिको विवरण दिएको छैन । जसले गर्दा एनसेल र विप्लवबीच वार्ता भई बार्गेनिङ हुन लागेको समेत आशंका गरिएको छ । गत वर्ष पनि विप्लव नेतृत्वको माओवादीले एनसेलको टावरहरुमाथि आक्रमण गरेको थियो ।

यसैबीच भक्तपुरको सल्लाघारीमा रहेको एनसेल टावरमा राखिएको प्रेसरकुकर ‘बम’ नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । गार्मेन्ट रहेको एक भवनको छतमा एनसेलको टावर थियो । त्यहीँ छतमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्फोजल टोली पुगेको थियो ।

सेनाको टोलीले बोरामा प्याक गरिएको प्रेसरकुकर बरामद गरेको छ । सुरक्षा गार्डहरु पनि रहेको उक्त भवनको छतमा रहेको टावरसम्म पुगेर कसरी प्रेसरकुकर बम राखियो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

Published : Thursday, 2018 February 15, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया