नेपालले केन्यालाई ३ विकेटले हरायो, शानदार प्रदर्शन

काठमाडौं । बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलले सम्हालिएको प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा केन्यालाई पराजित गरेको छ ।

१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेपनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो ।

जितपछि नेपालले ४ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ ।

नेपालको जितमा सन्दीपले ५ विकेट लिए भने ब्याटिङमा रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे। यस्तै कप्तान पारस र आरिफले ४२/४२ रन बनाए ।

आरिफ र रोहितले छैटौँ विकेटका लागि ८७ रनको साझेदारि गरेका थिए । अन्तिम बलमा नेपाललाई जितका लागि २ रन चाहिएको अवस्थामा सोमपाल कामीले २ रन लिदै नेपाललाई जित दिलाए ।

ओपनिङमा पुरानै समस्या दोहोरिदा नेपाल सुरुवात गतिलो हुन सकेन । यसै खेलबाट डेब्यु गरेका अनिल शाह गोल्डेन डकआउट भए भने ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए । नेपालले १४ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो ।

तर कप्तान पारसले इनिङ्स सम्हाल्दै चौथो विकेटका लागि शरद भेषावकरसँग ५६ रनको महत्वपूर्ण साझेदारि गरे । ४४ बलमा ३ चौका र २ छककाको मद्दतमा ४२ रन बनाएका पारस आउट भएपछि नेपालको इनिङ्स केही धर्मराएको थियो ।

त्यसपछि शरद १९ रन बनाएर आउट हुँदा नेपाल ८२/५ को स्थितिमा थियो । तर दुई युवा खेलाडी आरिफ र रोहितले निकै सम्हालियर खेल्दै नेपाललाई जितसम्म डोहोर्‍याए ।

रोहितले ८६ बल खेलेर १ चौका प्रहार गर्दै सर्वाधिक ४७ रन बनाए भने ८२ बल खेलेका आरिफले २ चौकाको मद्दतमा ४२ रन जोडे ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

ओपनरद्वय एलेक्स ओबान्डा र इरफान करिमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै केन्यालाई गतिलो सुरुवात दिलाएका थिए ।

तर सन्दीपले १६औँ ओभरको आफ्नो पहिलो स्पेशलमै ओबान्डाको विकेट लिदै केन्याको साझेदारी तोडेका थिए । उनले आफ्नो दोस्रो ओभरमा धिरेन गोन्डरियाको विकेट लिए भने ३३औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमशस् कप्तान राकेप पटेल र रुसन पटेलको विकेट लिएका थिए ।

त्यसअघि केन्याका लागि सर्वाधिक ४२ रन बनाएका इर्फान करिमलाई बसन्त रेग्मीले ३३औँ ओभरको दोस्रो बलमा आउट गरेका थिए ।

केन्याका लागि ओबान्डाले ४१ तथा कोलिन्स ओबुयाले २७ रन बनाए । नेल्सन ओढिएम्बो २४ तथा शेम एनगोचे २३ रनमा नटआउट रहे । यी दुईले नवौँ विकेटका लागि ३८ रनको साझेदारी गरे ।

बलिङमा सन्दीपले १० ओभरमा ५ मेडन राख्दै २० रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १/१ विकेट लिए ।

Published : Monday, 2018 February 12, 10:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया