यो हो वेभ सर्फरको असली धन्दा, प्रहरीको सेटिङमा छुटे मालिक

काठमाडौं । कुनै समय भिओआईपी मार्फत कल वाइपास गरी राजश्व छलीमा संलग्न इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिले गैरकानुनी रुपमा विदेशी रकम भित्र्याएर कम्पनी सञ्चालन गर्दै आइरहेको छ ।

विदेशी नागरिकलाई सेयर दिने भन्दै बैंकिङ च्यानलमार्फत रकम भित्र्याएर बर्षौंसम्म प्रयोग गर्ने र विदेशीले सेयर माग्दा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र एफडिआई नभएको भन्दै पन्छदै आएको छ ।

स्रोतका अनुसार विदेशीलाई ठगी गरेको आरोपमा दुई साता अघि महानगरिय अपराध महाशाखाले वेभ सर्फरका सञ्चालक सुरेन क्षेत्रीलाई पक्राउ गरेको थियो ।

तर, पक्राउ गरेको तीन घण्टा वित्न नपाउँदै छाडिएपछि प्रहरी र वेभ सर्फरबीच ठूलो आर्थिक डिल भएको स्रोतको दावी छ । सञ्चालक क्षेत्रीले सेयर दिने नाममा बेलायती र मलेसियन नागरिकबाट १० करोड लिएर सेयर नदिई ठगी गर्दै आएका छन् ।

बेलायती नागरिक विमलानाथन र मलेसियन नागरिक शशि धरणले आफूहरुको १० करोड वेभ सर्फरका सञ्चालकद्धय सुरेन क्षेत्री र सुमन क्षेत्रीले ठगेको आरोप लगाउँदै प्रहरी र अदालत गुहारेका थिए ।

महाशाखा स्रोतका अनुसार क्षेत्रीलाई पक्राउ गरेर ल्याएपछि छाड्ने क्रममा ‘यो त अदालतमा मुद्दा परेको’ भन्दै महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले ठूलो चलखेल गरी छाडेका थिए । शुरुमा पक्राउ गर्ने र पछि डिल गरेर छाड्ने महाशाखाको प्रवृत्तिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द समेत आजित भएका छन् ।

बेलायती र मलेसियन नागरिकले सेयर लिनका लागि वेभ सर्फरमा ८ करोड भन्दा बढि लगानी गरेको भएपनि सेयर नदिएपछि उनीहरुबीच लफडा बढेको हो ।

यदि अवैध रुपमा रकम भित्रिएको हो भने उक्त रकम प्रयोग नै गर्नु हुदैन थियो र सम्पत्ति सुद्दिकरण विभागलाई गुहार्नु पथ्र्यो । तर, एसपीए र एफडीआई नगरीकन सेयर दिन मिल्दैन भन्ने थाहा पाउँदा पाउँदै पनि क्षेत्रीको समूहले आफूखुसी उक्त रकम प्रयोग गर्दै आइरहेको छ ।

१७ वर्ष अघि देखि विदेशीको पैसा चलाएर उल्टै प्रहरी र अदालतमा सेटिङ मिलाउन तल्लिन वेभ सर्फरका सञ्चालक क्षेत्रीको ठग्ने शैलीले विदेशीहरु न्याय खोज्दै भौतारि रहेका छन् । विरोध भएपछि अहिले आएर क्षेत्रीले १० करोड फिर्ता गर्न आफूहरु तयार रहेको बताएपछि उनले ठगी गरेको पुष्टि भएको हो ।

गत शनिबार दुई हुण्डी कारोबारीबीचको लफडाका कारण महाशाखामा तनाव नै भयो । एउटा कारोबारीलाई च्याप्ने र अर्कोलाई फसाउने नीति लिंदा एसएसपी लोहनी विवादमा मुछिए ।

महाशाखाको टोलीले भक्तपुरबाट राजेश उपाध्याय नामका हुण्डी कारोबारीलाई पक्राउ गरेको थियो । उपाध्यायका हुण्डी पार्टनर थिए जेपी भट्टराई । स्रोतका अनुसार भट्टराईकै स्वार्थमा एसएसपी लोहनीले उपाध्यायलाई पक्राउ गराएका थिए ।

अष्ट्रेलियाबाट भट्टराईका भाइले हुण्डीमार्फत रकम पठाउने र नेपालमा भट्टराईले र उपाध्यायले विभिन्न स्थानमा पु¥याउँदै आएका थिए ।
उनीहरुबीच हुण्डीकै रकमको लेनदेनमा दरार उत्पन्न भएपछि भट्टराईले महाशाखा गुहारेका थिए ।

हुण्डी कारोबारको विषयमा महाशाखामा बार्गेनिङ भएको कुरा बाहिर आएपछि एसएसपी लोहनीले शनिबार बेलुका नै उपाध्यायलाई छाड्न आदेश दिएका थिए ।

स्रोतका अनुसार उपाध्यायलाई छाड्ने क्रममा पनि ठूलो आर्थिक चलखेल भएको थियो । उपाध्याय पक्राउ परेको बारेमा एसएसपी लोहनीसँग जानकारी लिंदा पक्राउ नभई सामान्य सोधपुछका लागि बोलाइएको बताए ।

Published : Thursday, 2018 February 1, 7:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया