यी हुन् होलेरीमा महिला कर्मचारीलाई दुरव्यवहार गर्ने एमालेका अध्यक्ष

होलेरी । रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा मगरले महिला कर्मचारीलाई धम्की दिएको खुलासा भएको छ ।

होलेरीस्थित कृषि सेवा कार्यालयको पाँच कोठे भवन कब्जा गर्ने उदेश्यले अध्यक्ष बुढाले महिला कर्मचारी नायब सुब्बा कल्पना नेपालीलाई धम्की दिएको स्रोतले जनाएको छ । अध्यक्ष बुढा एमालेबाट निर्वाचित भएका हुन् ।

नायब सुब्बा नेपाली बाँके जिल्लामा तीन महिनाका लागि काजमा रहेका बेला अध्यक्ष बुढाले कृषि सेवा कार्यालय होलेरीको भवन कब्जा गर्न लागेका हुन् । जिल्ला कृषि कार्यालयका नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, ‘नियम कानून विपरित गाउँपालिकाको अध्यक्षले राजनीतिक र प्रशासनको आडमा महिला कर्मचारीमाथि दुरव्यवहार हुने गरेर धम्काएका छन् । यो अभद्र व्यवहारको हामीले बिरोध गरेका छौँ । प्रमुख जिल्ला अधिकारीको भूमिका पनि संकास्पद देखिएको छ ।’

तपाईले सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेर कार्यालय नै कब्जा गर्न लाग्नु भएको रहेछ नि भन्ने प्रश्नको जवाफमा अध्यक्ष बुढाले भने, ‘दुई वटा कोठा नायब सुब्बा कल्पना नेपालीले प्रयोग गर्नुभएको रहेछ । गाउँपालिकाको कर्मचारी बस्नका लागि कोठा नभएपछि प्रहरी र प्रशासन लगाएर लिन लागेका हौँ ।’

अध्यक्ष बुढाले गाउँपालिकाका कर्मचारी राख्न महिला कर्मचारीमाथि दुरव्यवहार गरेको भनेर आरोप लागेको छ । महिला अधिकारकर्मीहरूले अध्यक्ष बुढा र रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गिरिजन भट्टराईको आलोचना गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष बुढाले फोन गरेर नायब सुब्बा नेपालीलाई पाँच कोठे भवन नदिने हो भने ‘पावर’ लगाएर सबै कोठाको ताला फुटाएर कब्जा गर्ने चेतावनी दिएका छन् ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी भट्टराईले पनि सरकारी कर्मचारी बसेको कोठामा लगाइएको ताला फोडेर गाउँपालिकाको कर्मचारीलाई बस्न आफूले अनुमति दिएको बताए । ‘कल्पना नेपाली ३ महिनाको काजमा जानु भएको छ । उहाँको सरसामान रहेको कोठाको ताला फुटाएर एउटा कुनामा राखेर गाउँपालिकालाई दिने सहमति दिएको छु’, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

तर, तीन महिनापछि कार्यालयमा काम गर्न आउन कर्मचारीको सरसमान फाल्ने अनुमति दिन मिल्छ भन्ने प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘त्यसबारेमा मलाई थाहा छैन ।’

नियमावलीअनुसार गाउँपालिकाका अध्यक्ष बुढाले कृषि सेवा कार्यालयको सो भवन लिन पाउँदैनन् । तर, उनले स्थानीय नियमावलीअनुसार पछि हामीले त्यो कार्यालय पाउँछौँ भन्दै कब्जा गर्न लागेका स्वीकार गरे ।

यसअघि सो कार्यालयको ठूलो एउटा कोठा गाउँपालिकाले कब्जा गरिसकेको छ । अध्यक्ष बुढाले आफ्ना कर्मचारी राख्न कृषि सेवा कार्यालयका कर्मचारीलाई मानहानी हुने गरेर गतिविधि गरेपछि अन्य कर्मचारीहरूले विरोध गरेका छन् ।

Published : Monday, 2018 January 29, 10:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया