पशुपतिको सम्पत्तिमाथि कमल थापाको ‘धावा’, मागे लालपुर्जा

काठमाडौं । निरंकुश कार्यशैली र व्यक्तिवादी हठका कारण आलोचित बन्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले चाबहिलस्थित राप्रपा (प्रजातान्त्रिक)को सम्पत्तिमाथि आँखा लगाएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) बसेको चाबहिलस्थित पार्टी कार्यालयको मालपोत कार्यालयको चाबहिल शाखासँग नक्सा माग गरेर अध्यक्ष थापाले मालमपोत कार्यालयमा निवेदन दिएपछि उनको नियतमाथि प्रश्न उठेको हो ।

कानूनसम्मत रुपमा चाबहिलस्थित दुई रोपनी जग्गा र साढे दुई तले भवन राप्रपाको नाममा छ । राप्रपाको अध्यक्ष थापा भए पनि यो विवाद राजनीतिक रहेकाले सोही रुपमा समाधान गर्नुपर्ने राप्रपा (प्रजातान्त्रिक)को भनाइ छ ।

उपप्रधान एवम् उर्जा मन्त्री समेत रहेका अध्यक्ष थापाले राप्रपा (प्रजातान्त्रिक) सँग परामर्श नै नगरी किन एकाएक पार्टी कार्यालयको भवन र जग्गा कब्जा गर्ने योजना बनाएका हुन् केही बताइएको छैन ।

थापाको दल राप्रपा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नराम्रोसँग पराजित भएको छ । त्यति मात्रै होइन थापाको दल र राप्रपा (प्रजातान्त्रिक) ले राष्ट्रिय पार्टी बन्न आवश्यक पर्ने कुनै पनि मत ल्याउन सकेनन् ।

चाबहिलको दुई रोपनी जग्गा र भवन पशुपति शम्शेर राणाले पार्टीलाई दिएका हुन् । अहिले सो पार्टी कार्यालयमा राणा नेतृत्वकै राप्रपा (प्रजातान्त्रिक) बस्दै आएको छ । यो जान्दाजान्दै अध्यक्ष थापाले मालपोत कार्यालयलाई महामन्त्री जयन्त चन्दमार्फत पत्र पठाएर कागजपत्र हराएको बहाना गरेर कागजपत्र माग गर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । थापा नेतृत्वको राप्रपा सुकेधारामा रहेको कार्यालयमा बस्दै आएको छ ।

चाबहिलको दुई रोपनी जग्गाको सरकारी मूल्य नौ करोड रहेको छ । चलनचल्तीमा सो जग्गाको मूल्य २० करोड रहेको राप्रपा (प्रजातान्त्रिक)का एक नेताले बताए । राप्रपाका महामन्त्री चन्दले हस्ताक्षर गरेको पत्र मालपोतको चाबहिल शाखामा दुई दिन अगाडि पुगिसकेको छ । सो पत्रमा चाबहिलको पार्टी कार्यालय रहेको जग्गा र भवनको कागजपत्र हराएकाले प्रतिलिपि पाउँ भन्ने व्यहोरा रहेको स्रोतले जनाएको छ ।

निर्वाचनमा खर्च भएको रकम सोही जग्गा बिक्री गरेर अध्यक्ष थापाले उठाउने योजना बनाएको आरोप उनकै पार्टीका नेताहरूको छ । थापाले एकाएक राजनीतिक विवादको सो जग्गामाथि आँखा लगाएका हुन् रहस्यको विषय बनेको छ । महामन्त्री चन्दले मालपोतमा पत्र पठाउनु अगाडि अध्यक्ष थापाले कानून व्यवसायीहरूसँग दुई दिनसम्म छलफल गरेको स्रोतको भनाई छ ।

अध्यक्ष थापाले दुई रोपनी जग्गा र साढे दुई तलाको भवन कब्जा गर्ने नीति अख्तियारी गरेपछि राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले पार्टीका शीर्ष नेता र कानून व्यवसायीहरूसँग मंगलबार र बुधबार दुईदिनसम्म लगातार परामर्श गरेका छन् । कानून व्यवसायीहरूले जग्गा र भवन दुबै राप्रपाको नाममा रहेकाले राप्रपा (प्रजातान्त्रिक)को पक्षमा हुन नसक्ने कानूनी प्रावधान सुनाएका छन् ।

तर, कानून व्यवसायीहरूले जग्गा र भवन व्यक्तिगत सम्पत्तिभन्दा पनि राजनीतिक विषय भएकाले यसलाई राजनीतिक र सम्वादका मार्फतबाट टुँगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर, राप्रपा अध्यक्ष थापा अहिले आफू उपप्रधान एवम् उर्जा मन्त्री रहेकै बेला दुई रोपनी जग्गा र भवन हड्ने योजनाका साथ सक्रिय भइरहेका छन् ।

Published : Friday, 2018 January 26, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया