राजपाको निर्णयले ओलीलाई झट्का, देउवा–यादवलाई राहत

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको राजपाको राजनीतिक समितिको बैठकले एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका झाले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए । आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजना अनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै कांग्रेस नेतृत्वसँग राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा औपचारिक छलफल अघि बढाएको थियो ।

प्रदेश नम्बर २ मा कम्तिमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी, नेपालले कांग्रेससँग राखेको छ । महासचिव झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ ।

आगामी माघ १० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।

Published : Monday, 2018 January 22, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया