यहाँ पनि आरजु हाबी, कांग्रेसको कोटामा राजावादी र एमालेका मान्छे नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका ७ वटै प्रदेश प्रमुखहरूले पदभार ग्रहण गरेर आइतबार प्रदेश सभा सदस्यहरूलाई सपथ खुवाएका छन् । उनीहरूले आफ्नो कामको थालनी गरिसकेका छन् ।

लामो समयको अनिश्चयलाई तोड्दै सरकारले हालै सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको थियो ।
प्रधानमन्त्री देउवाले तोकेका प्रदेश प्रमुखहरूमध्ये दुई जनाको नाम पूर्वराजावादी भनेर अहिले चर्चामा छ । तीमध्ये प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला र प्रदेश नम्बर ७ का मोहनराज मल्लको नाम राजावादी भनेर जोडिएको छ ।

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा प्रमुख छन् । प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ छन् । प्रदेश नम्बर ४ मा बाबुराम कुँवर प्रमुख छन् । कुँवरले कार्यसम्पादन मूल्यांकन कीर्ते काण्डमा फसेका तत्कालीन डिआईजी नवराज सिलवालको पक्षमा अदालतमा बहस गरेका अधिवक्ता हुन् । प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन् । झा महन्थ ठाकुरका सम्धी हुन् ।

प्रदेश नम्बर ६ मा दुर्गा खनाल तथा ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् ।

यीमध्ये कुँवर, कोइराला र मल्ललाई पूर्वराजावादीको संज्ञा दिँदै कांग्रेसभित्रै अहिले नेताहरूले विरोध गरेको एक नेताले बताए । ‘कांग्रेसमा योगदान गरेका कोही थिएनन् ?’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘राजावादी, कांग्रेसकै विरुद्ध लाग्ने वकिललाई प्रदेशको प्रमुख बनाउन मिल्छ । नवराज सिलवालका कारण कांग्रेसले ठूलो बद्नामी व्यहोरिरहेको छ ।’

कोइराला राजाको प्रत्यक्ष शासन कालमा महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री भएकी थिइन । उनी नेपालकी अत्यन्तै सम्मानित समाजसेवीका रुपमा चिनिन्छन् ।

७ नम्बर प्रदेशका प्रमुख मल्ल देउवासँग निकट मानिन्छन् । हुन त उनी राप्रपाको कोटाबाट प्रदेश प्रमुख भएको दाबी गरिएको छ । देउवासँगभन्दा पनि उनकी पत्नी डा.आरजु देउवा राणाको निकटताले मल्ललाई प्रदेश प्रमुख बनाइएको भन्दै कांग्रेस नेताहरूले अहिले आलोचना गरेका छन् ।

कुँवरले एमाले निकटका तत्कालीन डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउन सर्वोच्च अदालतमा बहस गरेका थिए । कुँवर र नवराज सिलवालबीच अहिले पनि साँठगाँठ रहेको आरोप कांग्रेसीहरूले नै लगाउने गरेका छन् । प्रदेश प्रमुखमा नियुक्त पाइसकेपछि कुँवर, कोइराला र मल्लले आरजु देउवालाई भेट गरेर आशीर्वाद लिएको एक नेताले बताए ।

५ नं. प्रदेशको प्रमुख बनेका झाले पनि आफ्ना सम्धीसँग आशीर्वाद लिएर कार्यभार सम्हाल्न बुटवलतिर हान्निएको एक नेताले बताए ।

Published : Monday, 2018 January 22, 9:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया