एमालेका दुई सांसद फरार, ‘गुन्डा नाइके’ मनाङ्गे पनि बेपत्ता

काठमाडौं । एमालेको समर्थनमा मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गे भनिने राजिव गुरुङ फरार भएका छन् ।

‘गुण्डा नाइके’को रुपमा चिनिएका मनाङ्गेको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रविन्द्र धानुकले बताएका छन् ।

०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङ्गेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि माघ २ गते सार्वजनिक भयो ।

०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् ।

महानगरीय अपराध महाशाखा प्रमुख दिवेश लोहनीले मनाङ्गेको खोजी भईरहेको जानकारी दिएका छन् ।

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङ्गे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङ्गे समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङ्गे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो ।

मनाङ्गे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ ।

यसअघि एमालेका अर्का सांसद एवम् पूर्व डिआईजी नवराज सिलवाल पनि फरार रहेका छन् ।

Published : Saturday, 2018 January 20, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया