डा.खड्काले अमेरिकामा पत्ता लगाए इबोलाको औषधि

काठमाडौं । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ जनाको वैज्ञानिक टोलीले इबोला भाइरसको औषधि पत्ता लगाएको छ ।

डा.खड्कासहितको टोलीले इबोलाको औषधि पत्ता लगाएको अमेरिकाको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् । डा.खड्का बागलुङ जिल्ला निवासी हुन् ।

दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा.खड्काले बताए । तीमध्ये एउटा बेन्जोक्विन अनलाइन समूहको औषधिको विस्तृत अध्ययन भएको छ ।

यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ । उनका अनुसार यो प्रक्रिया सकिएर इबोलाको औषधि सर्वसुलभ हुन अझै केही वर्ष लाग्नेछ ।

यो आविष्कारले फेरि इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास अनुसन्धानमा संलग्न वैज्ञानिक टोलीले लिएको छ ।

संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ ।

थुप्रै स्वास्थ्यकर्मीको समेत बिरामीको उपचार गर्ने क्रममा यो रोग सरेर मृत्यु भएको छ । त्यसैले यो रोग लागिहालेमा उपचार गर्नसमेत कोही स्वास्थ्यकर्मी अगाडि सर्दैनन् ।

इबोला नफैलियोस् भन्नका लागि नै आजकल संसारभरका विमानस्थलमा विदेश यात्राबाट फर्किने यात्रुलाई इन्फ्रारेड क्यामेराको प्रयोग गरेर सम्भावित संक्रमित यात्रुको पहिचान गरिन्छ । संसारका सीमित ल्याबमा मात्र इबोला भाइरसबारे अध्ययन गर्न सकिन्छ ।

यसका लागि सुरक्षा दृष्टिले अत्यन्तै संवेदनशील मानिने अमेरिकाको चौथो तहको प्रयोगशाला आवश्यक पर्ने डा.खड्काले बताए ।

लामो सुरक्षा जाँच र तालिमपश्चात् मात्रै सो प्रयोगशालामा काम गर्ने अनुमति अमेरिकी सरकारले दिन्छ ।

लामो समय लगाएर गरिएको यो अनुसन्धानले इबोला भाइरसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्ने जानकारी उनले दिए । सयौं औषधिबाट ५६ सम्भावित औषधि पत्ता लागेको र त्यसमा बेन्जोक्युनोलाइन समूहको औषधिको विस्तृत अध्ययन भइरहेको उनको भनाइ छ ।

अमेरिकी सरकारले लामो सुरक्षा जाँच र तालिमपश्चात् चौथो तहको प्रयोगशालामा काम गर्ने अनुमति दिने विश्वविद्यालयले जनाएको छ ।

खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र राज्यमन्त्री चम्पादेवी खड्काका जेठो छोरा हुन् । संसारका सीमित वैज्ञानिकको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने निकै कम अवसर पाउनेमा डा.खड्का भाग्यमानी नेपाली विद्यार्थी हुन् ।

सेल एन्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिस्ट डा.खड्काले आधारभूत शिक्षा बागलुङ बजारबाट हासिल गरेका थिए । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट आईएससी गरी थप अध्ययनका लागि अमेरिका गएका थिए ।

विल्सल्यान्ड फेलोसिप अवार्ड प्राप्त गरेका उनीसहितको टोलीले यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छ भन्ने विषयमा शोध गरेको थियो । यो टोलीको लामो समयको अनुसन्धानपछि औषधिको विस्तृत अध्ययन भइरहेको प्रतिष्ठित जर्नल एन्टिभाइरल रिसर्चमा उल्लेख छ ।

Published : Wednesday, 2018 January 17, 7:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया