राजनीतिक परिवर्तनप्रति पूर्वराजाको असन्तुष्टि, आयो गम्भीर विज्ञप्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको बताएका छन् ।

पृथ्वीनारायण शाहको २९६औँ जयन्तीका अवसरमा बुधबार साँझ शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको बताए ।

‘वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कसीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्दछ’, पूर्वराजा शाहले भनेका छन्, ‘निर्दयी कदम चाल्नेहरूलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नु पर्ने वाध्यतामा पुर्‍याई दिएको छ ।’

नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको उनले बताएका छन् ।

‘तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ’, पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताका साथ जागृत हुन परेको छ ।’

पूर्वराजा शाहले भनेका छन्, ‘पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसाथ गर्दै राष्ट्रिय स्वाभिमान पुनर्उत्थान तथा समृद्घिका निम्ति एकतावद्ध भई क्रियाशील बनौं, यो नै राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना र देशप्रतिको कर्तव्यबोध ठहरिनेछ ।’

Published : Wednesday, 2018 January 10, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया