गगनका गतिविधि कांग्रेस विरोधी भएको ठहर, कारबाहीबारे गम्भीर परामर्श

 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीलाई क्षति पु¥याउने गरेर गतिविधि गरेको भन्दै कारबाहीको आजाज उठेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध विभिन्न गुटको भेला गर्दै हिँडेपछि कांग्रेसभित्र थापामाथि अनुशासन कारबाहीको माग उठेको हो । नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्यले गगन थापामा अहँताले बास गरेको आरोप लगाए ।

‘गगनजीले गुटगत भेला गर्नुभयो । विशेष महाधिवेशन माग गर्नुभयो । कम्युनिष्टरूलाई फाइदा पुग्ने गरेर कांग्रेसको नीति र सिद्धान्तविरुद्ध अभिव्यक्ति दिँदै आउनुभएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती केन्द्रीय सदस्यले भने, ‘उहाँका विरुद्ध धेरै गुनासो र उजुरीहरू आइरहेको छ । अब अनशासनको कारबाही गर्नुभन्दा अर्को विकल्प देखिएन ।’

पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै गगन थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले बताए ।

शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेका गगन थापाले बाबुराम भट्टराई, रविन्द्र मिश्रहरूसँग मिलेर डा.गोविन्द केसी प्रकरणमा सर्वोच्च अदालतविरुद्ध व्यक्तिगत चर्चा हाँसिल गर्ने उद्देश्यले जथाभावी बोलेको आरोप छ ।

कांग्रेसले सधै न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउन नदिएको भन्दै नेताहरूले गगन थापाले कसैको उक्साहटमा न्यायालयमाथि नै धावा बोलेको आरोप लगाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान जम्मा भएका कांग्रेसका नेताहरूले कांग्रेसको नीति र सिद्धान्त विपरित गगन थापाका गतिविधि एवम् क्रियाकलापहरू हुन थालेको भन्दै चिन्ता जनाएका थिए ।

जवाफमा सभापति देउवाले युवा नेताहरू भनेर सबैले उचाल्छन् त्यही भएर होला गगनजीहरूमा अहँता आएको उल्लेख गरेका थिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘गगनजीले युवाहरूले नेतृत्व लिनुपर्ने भन्दै विधान विपरित भेला आयोजना गर्नुभयो, त्यतिमात्रै होइन चर्चाको लागि उहाँले पार्टी नेतृत्व विरुद्धमा बोल्नुभयो, यो गलत हो, पार्टीको विधान, नीति, सिद्धान्त र अनुशासन बाहिर गएर बोल्न पाइँदैन, त्यस्तै गतिविधि गरेकोले उहाँलाई कारबाही गर्नुपर्छ भन्ने माँग साथीहरूले गर्नुभयो, यस विषयमा सोचेर निर्णय लिने समझदारी भएको छ ।’

केही हप्ता अगाडि गगन थापाले आफूलाई प्रवक्तामा नियुक्त गरेको भनेर हल्ला चलाएका थिए । प्रवक्ता हुन नपाएपछि थापाको मनमा चिसो पसेको छ । हुन त थापाले प्रवक्तामा नियुक्त भएका विश्वप्रकाश शर्मालाई बधाइ पनि दिएका छन् ।

कांग्रेसको एकथरिले गगन थापाले गर्ने गतिविधि र क्रियाकलापले कम्युनिष्टहरूलाई फाइदा पुगिरहेको भन्दै आलोचना गर्दै आएका पनि छन् ।

गगन थापाका पछिल्ला क्रियाकलाप कांग्रेसलाई फाइदा हुनेभन्दा पनि कम्युनिष्टहरूलाई सहयोग मिल्ने गरेर भएको भन्दै चिन्ता जनाउन थालिएको छ ।

Published : Wednesday, 2018 January 10, 5:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया