एमालेको दवावमा माओवादी, पूरा हुन सकेन ‘प्रचण्ड’को यो माग

काठमाडौं । अपेक्षा गरिएअनुसारको निर्णय नगरेर माओवादी केन्द्र र एमालेका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार बसेको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो । मंगलबारको बैठकबाट पार्टी एकीकरण र बाम सरकार गठनका विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको थियो । तर, सोँचिएअनुसारको कुनै पनि निर्णय हुन सकेन ।

बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र समर्थकहरूलाई अपील गरेको छ ।

एमाले–माओवादीले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ ।

नयाँ कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षामान पुन र मातृका यादव रहेका छन् ।

पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूची रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ ।

एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचार गरेर बैंककबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ । स्रोतका अनुसार बैठकमा माओवादीका नेताहरूले पार्टी एकीकरण र सरकार गठबनका विषयमा लिखित सहमति गर्न एमालेका नेताहरूसँग आग्रह गरेका थिए । तर, एमालेका नेताहरूले माओवादी नेताहरूको आग्रहलाई नसुनेको जस्तो गरेर पन्छ्याइदिएका थिए ।

बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र ईश्वर पोखरेलको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2018 January 9, 9:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया