पक्राउ परेका गोविन्द केसीलाई कहाँ राखियो ?

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ गरी पेश गर्न आदेश गरेपछि प्रहरीले डाक्टर गोविन्द केसीलाई पक्राउ गरेको छ ।

सोमबार साँझ एसपी रामदत्त जोशी नेतृत्वको टोलीले केसीलाई अनसनस्थलबाट पक्राउ गरेको हो ।

केसीलाई सोमबार रातभरि सिंहदरबार प्रहरी बृतमा राखिने काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए ।

अदालतको आदेशअनुसार केसीलाई मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराइने उनले जानकारी दिए ।

केसीले प्रेस विज्ञप्तिमार्फत अदालतबाट भएको फैसलाविरुद्ध आमजनमानसमा भ्रम पर्ने गरी नेपालको न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्रेर मंगलबार बिहान ९ बजे अदालतमा दाखिल गर्न सोमबार सर्वोच्चले प्रहरीलाई आदेश दिएको थियो । सर्वोच्चको आदेशको केही घन्टाभित्रै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

डा..केसी प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी लगायतका माग राखेर सोमबार दिउँसोदेखि अनसन बसेका थिए ।

सर्वोच्चले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको यो मुद्दामा डा.केसीले अदालतको अवहेलना गरेको ठहरिए उनलाई के सजाय हुन सक्छ भन्ने धेरैको चासो छ ।

अदालतको अवहेलनामा हुने कारबाहीबारे न्याय प्रशासनसम्बन्धी ऐनमा उल्लेख गरिएको छ ।

ऐनको दफा १७ को उपदफा १ मा सर्वोच्च अदालतले आफ्नो र आफू मातहतका अदालतको न्याय सम्पादनका कार्यमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ ।

डा.केसीले अदालतको अवहेलना गरेको ठहरियो भने उनलाई कैद र जरिवाना दुबै हुन सक्छ । यस्तो व्यवस्था उक्त ऐनको उपदफा ४ मा गरिएको छ ।
एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ छ । केसीले पक्राउपछि अदालतसँग क्षमा माग्न सक्ने छन् ।

Published : Monday, 2018 January 8, 9:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया