पौडेल समूहको गोप्य भेलामा के–के भए निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंंग गर्न माग गरेको छ ।

काठमाडौंको एक होटेलमा सोमबार भएको पौडेल समूहको गोप्य भेलामा नेताहरूले केन्द्रीय कार्यसम्पादन र संसदीय समितिबाट राजीनामा दिन आफ्नो समूहका नेताहरूलाई आग्रह गरेका छन् ।

भेलाले कार्यसम्पादन र संसदीय समिति विधान विपरित भएको भन्दै भंग गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसका नेता नवीन्द्रराज जोशीले जानकारी दिए । ‘पार्टीलाई कसरी सुदृढ गर्न सकिन्छ भनेर छलफल गरेका हौँ’, उनले भने, ‘निर्वाचनमा भएको कांग्रेसको पराजयबाट हामी नेतृत्वमा रहेका नेताहरू चिन्तित छौँ ।’

कांग्रेसमा २९ सदस्यीय कार्यसम्पादन समिति छ भने टिकट वितरणका लागि संसदीय समिति बनाइएको छ । विधानमा बढीमा १४ सदस्यीय समिति हुने भनेपनि २४ सदस्यीय बनेको छ ।

गोप्य भेलामा नेताहरूले कार्यसम्पादन र संसदीय समितिमा रहेका आफ्नो समूहका नेताहरूलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन पनि भेलाले माग गरेको छ । लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसक्नुका कारण, टिकट तथा स्रोतसाधन वितरण, जम्बो मन्त्रिपरिषद्, भ्रातृ संगठनहरूको गतिविधि शून्य हुनुका कारणबारे छलफल गर्नु पर्ने नेताहरूको सुझाव छ ।

राष्ट्रियसभा निर्वाचनमा अहिलेसम्म अवसर नपाएका केन्द्रीय सदस्यहरूलाई अघि सार्नु पर्ने भेलाको जोड छ ।

नेताहरूका अनुसार केन्द्रीय समितिमा अहिलेसम्म अवसर नपाउने ७ जना छन् । सुरेन्द्र पाण्डे, गुरु घिमिरे र कल्याण गुरुङ यो समूहमा छन् ।

पार्टीले पाउने अवसरको समुचित वितरण हुनुपर्ने भन्दै पौडेल समूहले समानुपातिकमा परेका तथा प्रत्यक्ष चुनाव लडेकाहरूलाई अघि नसार्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

Published : Monday, 2018 January 8, 7:39 pm

1 प्रतिकृया प्राप्त “पौडेल समूहको गोप्य भेलामा के–के भए निर्णय ?”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया