एमालेको असहयोगपछि राजधानीबारे सरकारले ल्यायो मध्यमार्गी बाटो

काठमाडौं । कानूनमन्त्री यज्ञबहादुर थापाले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा थापाले प्रदेश प्रमुखको अपरिहार्यता सबै दलले बुझिसकेकाले सरकारले योग्य व्यक्तिलाई प्रमुखमा नियुक्ति गर्ने बताए ।

केही दिनअघिसम्म यो सरकारले प्रदेश प्रमुख तोक्न पाउँदैन, तोक्यो भने सपथ खादैनौँ भनेर खबरदार गरेका बाम गठबन्धनका नेताहरू नै अहिले छिटो प्रदेश प्रमुख तोक्नुप¥यो भनेर दबाब दिइरहेको थापाले उल्लेख गरे । मन्त्री थापाले पछिल्ला दिनमा सरकारले लिएका सबै अडान सही प्रमाणित भएको बताए ।

मन्त्री थापाले वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने बताए । ‘संविधानले कसैलाई पनि अस्थायी राजधानी तोक्ने अधिकार दिएको छैन । यो सरकारलाई पनित्यो अधिकार छैन । अब आउने सरकारलाई पनि त्यो अधिकार छैन’, उनले भने, ‘संविधानको धारा २८८ को उपधारा ‘ख’ मा प्रदेशसभाको दुईतिहाई बहुमतले राजधानी छनौट गर्ने व्यवस्था छ ।’

सोही धाराको उपधारा ‘ग’ मा प्रदेशसभाले राजधानी नछानेसम्म कार्यसम्पादनका लागि सरकारले सभा बस्ने ठाउँ निर्धारण गर्ने मन्त्री थापाले बताए । तर कुनै पनि ठाउँलाई अस्थायी राजधानी भनेर सरकारले तोक्न नपाउने उनले बताए ।

उपधारा ३ मा टेकेर सभा बस्ने ठाउँ तोक्नका लागि सर्वदलीय बैठकमा सहमति खोज्ने प्रयास सरकारले गरे पनि सहमतिका लागि अन्य दलले चासो नदिएको मन्त्री थापाले आरोप लगाए ।

‘बाम गठबन्धनका नेताहरूले तँ गर हामी हेरौँला भनेर बसेका छन् । तर, हामी व्यवस्थापनका लागि मध्यमार्गी बाटो खोजिरहेका छौँ’, थापाले भने ।

Published : Sunday, 2018 January 7, 4:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया