दवाव आएपछि प्रदेश राजधानीबारे झुठ बोल्यो एमालेले

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानी र कर्तव्यबाट पछाडि हटेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा रावलले भने, ‘सरकार आफ्नो कर्तव्यबाट पछि हटेको छ, हामीले बालुवाटारको सर्बदलीय बैठकमा नयाँ सरकार गठन गर्नका लागि संविधान अन्तरगत रहेर जे–जे गर्न पर्छ गर्नुस् भनेका थियौँ ।’

एमालेले प्रदेशको राजधानी तोक्ने विषयमा दोहोरो चरित्र देखाएर कार्यकर्तालाई आन्दोलनमा उतारेपछि सो विषयलाई थाँती राख्ने निर्णय गरेको थियो । सरकारले सर्वदलीय सहमतिपछि मात्रै राजधानी तोक्ने जनाउँदै आएको छ । एमालेकै कारण प्रदेशको राजधानी र प्रदेश प्रमुखको विषय अड्की रहेको छ ।

उनले भने, ‘तर अहिले आएर सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न सक्दैनौँ, दलीय सहमति चाहिन्छ भन्नु बेतुकको तर्क हो ।’ सरकार आफ्नो अधिकारबाट कर्तव्यच्यूत भएको रावलको आरोप थियो ।

नेता रावलले प्रदेश प्रमुख तोक्ने सरकारको तयारीलाई एमाले बिरोध नगर्नेे स्पष्ट पारे । सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न आग्रह गर्दै उनले भने, ‘सरकारले जनताको जनमतलाई कदर गर्ने काममा चुकेको छ, प्रधानमन्त्रीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्छु भन्नु हास्यास्पद कुरा हो ।’

सरकारका काम र राजनीतिक निकासका काममा एमाले बाधक बन्यो भन्ने आरोप छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा नेता रावलले भने, ‘प्रदेश प्रमुखहरूको कुनै नाम दिएको छैन्, हामीले कसलाई सहमति दिने ? प्रदेशको अस्थायी राजधानीको लागि गृहकार्य गरेको र स्थलगत रिपोर्ट बुझेको समाचार आएका छन् । त्यो कुरा एमालेलाई सरकारले कुनै जानकारी दिएको छैन्, हामीलाई आरोप लगाएर हुन्छ, के–के गर्नुपर्ने हो छिटो गर्नुपर्यो, कर्तव्य र कानूनले दिएको अधिकार प्रयोग सरकारले गर्दा हाम्रो कुनै विमती रहँदैन ।’

Published : Sunday, 2018 January 7, 4:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया