व्यापारी र पत्नीहरूलाई सांसद बनाउन दवाव

काठमाडौं । समानुपातिकतर्फको सासंद बन्नका लागि बन्दसूचीमा नाम भएका नेताहरू पैसाको बिटो बोकेर शीर्ष नेताहरूकहाँ धाउन थालेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गर्नुअघि नै आफ्नो स्थान सुरक्षित गर्न बन्द सूचीमा नाम भएकाहरू दौडधुपमा लागेका हुन् ।

समानुपातिकको बन्दसूचीमा अधिकांश पैसा खुवाउन सक्नेहरूको नाम राखेका दलहरूले जसले धेरै पैसा दिन सक्छ उसैलाई सासंद बनाउने रणनीति लिएको स्रोतले जनाएको छ ।

संविधानअनुसार कोटा पूरा गर्नुपर्ने बाध्यात्मक स्थितिबाहेक टेण्डर आह्वान गरे झैँ नै जसले बढी पैसा दिन सक्यो उसैलाई सासंद बनाउने चलखेल भइरहेको स्रोतको भनाइ छ । पैसा बुझाएर पनि सांसद बन्न नसकेकाहरू अहिले पैसा डुब्ने हो कि भनेर चिन्तामा पर्न थालेका छन् ।

कांग्रेसमा विनोद चौधरी, उमेश श्रेष्ठ, देवी भट्टचन, कर्मा घले, दीव्यामणिराज भण्डारीलगायतले पैसा बुझाएकै भरमा सासंद बन्न पाउने सम्भावना बढी देखिन्छ ।

समानुपातिकतर्फ पुरुष सासंदको संख्या धेरै हुने भएकाले पनि कांग्रेसलाई सासंद पद बेच्न सहज भएको छ । एमाले र माओवादी केन्द्रमा पनि पैसा बुझाएर सासंद बन्न तयार नेताहरू धेरै छन् । समानुपातिकमा पुरुष सासंदको संख्या २–३ जना मात्रै हुने भएकाले समस्या परेको छ ।

मोटो रकम बुझाएर सूर्य चिन्हमा आफ्ना उम्मेदवार उठाएका चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल बद्री न्यौपाने र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सासंद बन्न पाउने सम्भावना न्यून देखिएको छ । माओवादीमा पनि अवस्था त्यस्तै छ ।

पुरुष सासंद १–२ जना मात्र पठाउन पाउने भएकाले खरिद विक्री गर्न समस्या भइरहेको स्रोतले जनाएको छ । एमाले र माओवादीले महिला सासंदकै लागि पनि जसले धेरै पैसा दिन सक्छ उसैलाई सासंद बनाउने प्रयास गरेको कतिपयले आरोप लगाएका छन् ।

पैसाको चलखेल बाहेक नातागोता र परिवारवादले पनि राम्रै स्थान पाउने निश्चित छ । प्रदेशसभामा जस्तै प्रतिनिधिसभाको समानुपातिकमा पनि पहुँच भएका नेताहरूले आफ्नी श्रीमतीलाई सासंद बनाउन लागेका छन् ।

कांग्रेसका नेता वालकृष्ण खाँड र उनकी श्रीमती मञ्जु खाँड दुवै जना सासंद बन्ने पक्का जस्तै छ । माओवादीका नेता लीलामणि पोखरेलकी श्रीमती शशि श्रेष्ठ पनि सासंद बन्ने निश्चित छ । एमालेका शेरबहादुर तामाङ र विनोद खतिवडाकी श्रीमतिलाई पनि सासंद बनाउन लागिएको छ ।

Published : Sunday, 2018 January 7, 10:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया